- अमर काफ्ले

इनरुवा। सुनसरीमा ६ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएका जानकारी अनुसार ६ जना जनप्रतिनिधिले कार्यालयमा गएर सनाखत गरेका छन । ६ जनाले नेकपा एकीकृत समाजवादी रोजेको बताएपनि कार्यालयले उनीहरुको नाम भने खुलाएको छैन ।

जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले दल रोज्न दिइएको समय भित्र उपस्थित भई ६ जनाले सनाखत गरेको बताए । उनले खामबन्दी सनाखत निर्वाचन आयोगमा पठाइने बताए ।
एकीकृत समाजवादी रोज्नेमा इनरुवा, बराहक्षेत्र, इटहरी र धरानबाट निर्वाचित जनप्रतिनिधिहरु रहेको बुझिएको छ । एकीकृत समाजवादी निकट स्रोतले दिएको जानकारी अनुसार इटहरी र धरानका एक–एक जना कार्यपालिका सदस्यले सनाखत गरेका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादी रोज्नेमा इनरुवा र इटहरीका एक–एक जना र बराहक्षेत्रका दुई जना वडा सदस्य रहेका छन ।

तपाईको प्रतिक्रिया