- अमर काफ्ले

नेपाली कांग्रेसको १४औं महाधिवेशन तालिका अनुसार वडा अधिवेशन समपन्न भै नगर अधिवेशनको मिति नजिकिदै गर्दा इनरुवा कांग्रेसमा सरगर्मी बढेको छ ।इनरुवामा नगर सभापति पदमा दुई भन्दा बढी आकांक्षी देखिएका छन । जस अनुरुप नगर प्रमुख समेत रहेका राजन मेहता, योगेन्द्र प्रसाद मेहता र सितोष पोखरेलले उमेदवारी घोषणा गरेका छन । रोशन खड्का समेतले सभापतिमा उमेद्वारी घोषणा गरेको भएपनि उनले भने खेमा परिवर्तन गरेका छन ।

भदौ २७ को लागि तोकिएको नगर अधिवेशनको कार्य तालिका परिवर्तन भएकाले समेत नगर कांग्रेसमा उम्मेद्वारीको विषय रोचक र प्रतिष्पर्धात्मक बन्दै गएको छ । नयाँ तालिका अनुसार कांग्रेसको नगर अधिवेशन असोज ९ गते हुदैछ । अधिवेशनको तयारीमा जोडतोडले लागेका कांग्रेसीहरु परिणाम आफ्नो पक्षमा पार्न बेग्लाबेग्लै समूह निर्माणमा जुटेका छन । पक्ष विपक्षमा लविङ समेत सुरु भएको छ । नगर प्रमुख समेत रहेका मेहता १४औं महाधिवेशनबाट कार्यकाल पूनः लमब्याउने पक्षमा छन । योगेन्द्रप्रसाद मेहताले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन । त्यसैगरी सितोष पोखरेलले समेत नगर सभापतिमा आफ्नो दाबेदारीको घोषणा गरेका छन ।

हाल नगर सभापति रहेका मेहता हालको समेत गरी दुई कार्यकाल सभापति रहेका व्यक्ति हुन । उनले तेस्रो पटक सभापतिमा दाबी पेश गरिरहँदा अन्य प्रत्यासीले भने बाटो खुल्ला नगरिएकाले आफुहरुले दाबेदारी पेश गरेको बताएका छन । नगर प्रमुख समेत रहेका मेहताले भने आफुले विधान सम्वत दाबेदारी पेश गरेको बताउदै आएका छन । उनले पहिलो कार्यकालताका कांग्रेसकोे विधानले स्पष्ट नबोलेको र पछिल्लो पटक दुई कार्यकाल उठ्न पाउने भनिएकाले समेत सोही अनुरुप उम्मेदवारी घोषणा गरेको बताएका छन ।
सभापतिको पद नछाड्न पार्टी नेतृत्व पंक्तिले समेत आग्रह गरेको बताउने मेहताले नगर कांग्रेस मात्र नभएर आशन्न विभिन्न तह र चरणका निर्वाचनमा पकड बलियो बनाउन समेत नगर सभापतिमा आफ्नो दाबेदारी रहेको बताएका छन । यद्यपि, उनले सहमति र सहकार्यको भावनाबाट भने आफु पछि नहटेको बताएका छन । आफु सर्वसम्वतको पक्षमा रहेको उनको भनाई छ ।

उता पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी घोषणा गरेका योगेन्द्रप्रसाद मेहताले यस पटक कुनैपनि हालतमा पछि नहट्ने बताएका छन । उनले अघिल्ला महाधिवेशनमा मेहतालाई साथ दिएको भएपनि अबभने उनले पद हस्तान्तरण गर्ने बेला आएको बताए ।योगेन्द्रले एकै व्यक्ति लामो समय एउटै पदमा बस्नु पार्टी हित बिपरित हुने भएकाले समेत नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताए । उनले नगर प्रमुख समेत रहेका हालका नगर सभापतिको पक्षमा जनाधार कमजोर बन्दै गएकाले समेत विकल्प खोजिनु आजको आवश्यक्ता भएको बताए ।
यता इनरुवा कांग्रेस भित्र निर्णय लिने र छाड्ने सवालमा धेरैजसो चासो र चर्चामा रहने युवा नेता सितोष पोखरेलले यस पटक भने आफ्नो दाबेदारी मजबुत रहेको बताएका छन । बिगतमा दिएको साथ र समर्थनको अवमूल्यन भएकाले समेत नगर सभापतिमा उम्मेदवारी दिएको उनको भनाई छ । पोखरेलले माहोल आफ्नो पक्षमा रहेकाले समेत उम्मेदवारीबाट पछि नहट्ने बताए ।
यता नगर सभापतिमा उम्मेदबारी घोषणा पश्चात निर्णय बदलेका रोशन खड्काले भने खेमा परिवर्तन गरी क्षेत्रीय समिति रोजेका छन ।
दुई वर्र्षे अवधि इनरुवा नगर सचिवको जिम्मेबारी सम्हालेका खड्काले नयाँ अनुहारलाई स्थान दिन नेतृत्वले आनाकानी गरिरहँदा सहमतिको सम्भावना नदेखेपछि क्षेत्र तर्फ फड्को मारेको प्रतिकृया दिएका छन ।
उनले नगर भित्र व्यक्तिवादी प्रवृति हावी भएकाले समेत पार्टीका अग्रज नेताहरुको आग्रह र कार्य मूल्यांकनका आधारमा आफुले क्षेत्र रोजेको बताए । स्रोतका अनुसार खड्काले ४ नम्बर क्षेत्रीय समितिमा महत्वपूर्ण जिम्मेवारी पाउने लगभग पक्का भएको छ ।
अशोज ९ गतेकालागि तोकिएको १४औं नगर अधिवेशनले इनरुवामा नगर सभापति लगायत ७ पदाधिकारी र खुल्ला तर्फ ३० सहित समानुपातिकबाट २० गरी ५३ सदस्यीय नगर कार्य समिति चयन गर्ने छ । नेतृत्व चयन चुनावी प्रकृयाबाट अघि बढेमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी ४ सय २० जना मतदानमा सहभागी हुने छन ।

तपाईको प्रतिक्रिया