- अमर काफ्ले

इनरुवा । बढेको तलब पाउनु पर्ने माग गर्दै इनरुवा नगर भित्र रहेका बालबिकास केन्द्रका शिक्षक कर्मचारीले नगरपालिकामा धर्ना थालेका छन । नगरपालिका सँग भएको यसअघिका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले माग पुरा नभए सम्म धर्ना जारी राख्ने बताएका छन ।नगरपालिकाको मूल गेटमा दिइएको धर्नाका कारण कार्यालयको कामकाज समेत प्रभावित बनेको छ । धर्नाकारीले माग सुनुवाई नभए धर्ना कार्यक्रमलाई निरन्तरता दिदै कर्मचारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाइने बताएका छन् ।

संघर्ष समितिकी अध्यक्ष सोनु मगर ढुङ्गेलले सरकारले घोषणा गरे अनुरुपको तलब पाउनु पर्ने आफुहरुको माग रहेको बताइन । उनले अन्य स्थानीय तहले सरकारी निर्णय कार्यान्वयनमा ल्याइसक्दा इनरुवाले भने आलटाल गर्दै आएको बताइन । आन्दोलित पक्षले सरकारले दिने भनेको १५ हजार तलब इनरुवा नगरपालिकाले तत्कालैबाट कार्यान्वयनमा नल्याए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ । सरकारी घोषणा अनुसार ६ हजार तलब बुझ्दै आएका बालबिकास केन्द्रका शिक्षक कर्मचारीको हकमा २ हजार सरकारले ब्यहोर्ने भनिएको छ ।

बढाइएको रकमको बाँकी ७ हजार भने स्थानीय तहले उपलब्ध गराउनु पर्ने भनिएको छ ।इनरुवा नगरपालिकाले भने स्रोत अभावमा सो रकम व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै आएको छ । यद्यपि, उसले उचित तवरले माग सम्बोधनको प्रयास भने जारी रहेको बताएको छ । पहिलो दिनको धर्नामा नगर भित्र रहेका ८४ जना बालबिकास केन्द्रका शिक्षक तथा कर्मचारी सहभागि थिए ।

तपाईको प्रतिक्रिया