इनरुवा अस्पताल सुधारको माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले धर्ना कार्यक्रमलाई चौथो दिन समेत निरन्तरता दिएको छ ।संघर्ष समितिले आज चौथो दिन समेत धर्नालाई निरन्तरता दिएको छ । समितिले पूर्व तालिका अनुरुप इनार चोकमा दैनिक मध्यान्हबाट धर्ना दिदै आएको छ ।संघर्ष समितिले आफुहरुको धर्ना कार्यक्रममा स्थानीयको साथ र ऐक्यवद्धताको क्रम क्रमशः बढ्दो क्रममा रहेको जनाएको छ ।धर्नाकारीले कार्यक्रम मार्फत अस्पताल सुधारका लागि स्थानीयलाई साथ दिन आग्रह समेत गर्दै आएका छन ।

संघर्ष समितिले इनरुवा अस्पताल मात्रै रेफर अस्पताल बनेको भन्दै यसअघिबाटै असन्तुष्टि पोख्दै आएको छ । उसले गुणस्तरीय सेवा र औषधोपचारका लागि अस्पताल भित्रको वेथिति अन्त्य हुनु पर्ने आफुहरुको प्रमुख माग गरेको दोहोर्याउदै आएको छ ।समितिले धर्नाका क्रममा प्रत्येक दिन बिरोधको आवश्यकता र औचित्य बारे धारणा प्रष्ट्याउदै आएको छ । सो क्रममा विभिन्न वक्ताले धारणा राख्दै आएका छन । धारणा राख्नेहरुले माग सुनुवाई नहुनुमा अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासन र नगरपालिकालाई दोष दिदै आएका छन ।

यसैबिच चौथो दिनको धर्ना कार्यक्रम समापन पूर्व सम्बोधनका क्रममा भने संघर्ष समितिले उत्तेजक भाषणबाजी दिएको छ ।संघर्ष समितिका संयोजक दिलिपचन साहुले नामै किटेर नगर प्रमुख राजन मेहता लक्षित उत्तेजक भाषणबाजी गरेका छन ।साहुले नगर प्रमुखलाई दिमाग खराब भएको व्यक्ति भन्दै आवश्यक परे सडकमा ल्याएर नङ्ग्याउनु पर्ने अवस्था आउन सक्ने बताएका छन । सो कार्यका लागि उनले संघर्ष समितिलाई तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन ।उनले मेयरलाई भष्ट्राचार र कमिसनखोरी समेत भनेका छन । अस्पताल सुधार र सेवा प्रवाहको बन्दोवस्ती मिलाउदा कमिसन खान असहज हुने भएकाले नै मेयरको ध्यान अस्पताल केन्द्रीत नदेखिएको साहुको भनाई छ ।

संघर्ष समितिका संयोजक साहुले इनरुवा अस्पतालको वेथिति अन्त्य गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नुको साटो मेयर राजन मेहता बसपार्कलाई अस्पताल बनाउन उद्यत देखिनु स्वार्थपूर्ण रहेको बताए । उनले आफुहरुको आन्दोलनलाई राजनीतिक स्वार्थपूर्ण भन्नेलाई समितिले काम गरेर जवाफ फर्काउने समेत बताए ।सो क्रममा उनले संघर्ष समिति आन्दोलनबाट पछि नहट्ने भन्दै माग सुनुवाई नभए अस्पताल तालाबन्दी देखि व्यवस्थापन समिति र नगर प्रमुख उपर जनकार्वाहीको बाध्यात्मक अवस्था समेत निम्तन सक्ने बताए । जसकालागि उनले पटक पटक संघर्ष समितिलाई तयारी अवस्थामा रहन भनेका थिए ।संघर्ष समितिका अनुसार धर्ना कार्यक्रम एक हप्ता सम्म चल्ने छ । समितिले एक घण्टाबाट थालेको धर्ना कार्यक्रमको अवधि दैनिक बढाउँदै लगेको छ ।

तपाईको प्रतिक्रिया