इनरुवा। नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भोलि हुन लागेको नगर अधिवेशनमा इनरुवा नगर सभापति पदमा त्रिपक्षीय भिडन्त हुने भएको छ । उम्मेदवारीको विषयमा विभिन्न अड्कलबाजी हुदै गर्दा अन्ततः सभापतिका आकांक्षी रहेका तीन अनुहार बिचको चुनावी भिडन्त पक्का भएको छ । निर्वाचन कार्यतालिका अनुरुप आज साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । प्रकाशित नामावली अनुसार इनरुवा नगर सभापति पदमा योगेन्द्र प्रसाद मेहता, सितोष कुमार पोखरेल र राजन मेहता बिचको प्रतिष्पर्धा तय गरेको छ ।

चुनावी मैदानमा उत्रिएका तीनैजनाले सभापति पदमा आ–आफ्नो उम्मेदवारी भने यसघिनै घोषणा गरेका थिए । औपचारिक रुपमा चुनावी प्रकृया मार्फत अन्तिम नामावली प्रकाशन भएसँगै भोलि हुने निर्वाचनमा त्रिपक्षीय भिडन्त रोचक हुने अनुमान लगाइएको छ । राजन मेहताले विधान सम्मत कार्यकाल दोहोर्याउदै गर्दा योगेन्द्र प्रसाद मेहता र सितोष पोखरेलले नेतृत्व परिवर्तनको आवश्यकता औल्याउँदै आफुलाई चुनावी मैदानमा उभ्याएका छन ।

नगर काँग्रेसमा सभापतिका आकांक्षी दुई भन्दा बढी देखिएपछि सर्वसम्मतको प्रयास यसअघि बाटै हुदै आएको थियो । यद्यपि, आकांक्षी पछि नहटेका र सर्वसम्मतको प्रयास समेत सफल नभएपछि इनरुवा काँग्रेसले अन्तिम छिनोफानोका लागि चुनावी प्रतिष्पर्धा रोजेको हो । सोको परिणाम भोलिका लागि तय निर्वाचनले टुङ्गो लगाउने छ । नगर काँग्रेसको भोलि हुने निर्वाचनमा उपसभापति तर्फ ५ जनाको उम्मेदवारी परेको छ । विनिता दाहाल, मो. इमताज, दिपक कुमार सुवेदी, बौवालाल मेहता र प्रदीप ढकालले उपसभापति पदमा उम्मेदवारी दिएका छन । जसमध्ये २ जना निर्वाचित हुने छन ।

यसैगरी नगर काँग्रेसको सचिव पदमा तीनजनाको उम्मेदवारी परेको छ । राकेश निरौला, सन्तोष शर्मा र खेमराज थापा बीच सचिव पदमा निर्वाचन हुने भएको छ । तीन मध्ये सचिव पदमा दुईजना छानिने छन । सह–सचिव तर्फ भने दुईजनाको मात्र उम्मेदवारी परेपछि शेखरनाथ पोखरेल र जयप्रसाद साह निर्विरोध भएका छन । मतदान अधिकृतको कार्यालयका अनुसार वडाबाट चुनिएका ३० र समानुपातिक तर्फ २० गरी ५० जना भने नगर समिति सदस्यमा निर्विरोध भएका छन । १४औं नगर अधिवेशन अन्र्तगत इनरुवा काँग्रेसको चुनावमा सहभागि हुने मतदाताको संख्या भने ४ सय १२ रहेको छ ।

तपाईको प्रतिक्रिया