- अमर काफ्ले

इनरुवा/सुनसरीको इनरुवामा थारु दलित अल्पसंख्यक महिलाहरुले सामूहिक जितिया मनाएका छन । इनरुवा ६ को कबर्ड हलमा आयोजना गरिएको जितिया महोत्सवको उप प्रमुख जमुना गौतम पोखरेलले उद्घाटन गरेकी थिइन ।

महोत्सवमा महिलाहरुले झुमरा नृत्य प्रस्तुत गरेका थिए । साथै जातीय भेषभुषामा सजिएका युवती तथा महिलाहरुले नृत्य तथा नाटक प्रस्तुत गरेका छन । महोत्सवको सबैजसो प्रस्तुति कला र संस्कृति जर्गेनाको आवश्यकता माथि केन्द्रीत थियो । कार्यक्रममा एक दजर्न समूहले आ–आफ्नो प्रस्तुति दिएका थिए ।कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष कोषराज अधिकारी, कार्यपालिका सदस्य मनु चापागाई, वडा सदस्य हेमनारायण चौधरीका साथै अगुवाहरु हरिनारायण चौधरी, सत्यनारायण चौधरी, जुरीलाल मोची लगायतको उपस्थिति रहेको थियो ।

समूगत रुपमा तेस्रो जितिया महोत्सव आयोजना गरेको थारु, दलित,अल्पसंख्यक महिला समूहले परम्पराको जर्गेना गर्दै नयाँ पिडीलाई जानकारी दिलाउनु प्रमुख उद्येश्य रहेको जनाएको छ । अध्यक्ष रेनुका चौधरीले कार्यक्रमलाई समयानुकुल परिस्कृत बनाउदै लगिएको बताइन् ।

उनले जातीय परम्परा र संस्कृति भूल्न नहुने बताइन ।महोत्सवलाई उप प्रमुख जमुना गौतम पोखरेलले सम्बोधन गरेकी थिइन् । सो क्रममा उनले कार्यक्रमकालागि नगद २५ हजार बढी सहयोगको बाचा समेत जनाइन । उनले आफु महिलाहरुको हकहीतमा लागिपरेको बताउँदै महिलाका हकमा नगरपालिकाबाट आवश्यकता अनुसार सहयोगको प्रतिवद्धता जनाइन ।

महोत्सवमा सहभागिता जनाएका विभिन्न समूहलाई प्रस्तुति मूल्याङ्कनका आधारमा पुरस्कृत गरिएको कार्यक्रम संयोजक हेमनारायण चौधरीले बताए । कार्यक्रममा जेष्ठ नागरिक महिलाहरुलाई समेत सम्मान गरिएको थियो । जितिया पर्व थारु र मैथिल समूदायले ठूलो चाडका रुपमा मनाउने गर्छन । यस पर्वमा महिलाहरुले उपवास बसी सन्तान सुख र परिवारको दीर्घायुको कामना गर्दछन ।

तपाईको प्रतिक्रिया