- अमर काफ्ले

फिस्टेल एयररको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण गरिएको छ । काठमाण्डौंबाट बिराटनगरकालागि उडेको हेलिकप्टर साँझ इनरुवाको सखुवागाछी खण्डको धानखेतमा अवतरण भएको हो ।सुनसरी प्रहरीका अनुसार खेतमा ल्याण्ड भएको 9N-II हेलिकप्टर सुरक्षित छ । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार हेलिकप्टरमा चालक दलका सदस्य सहित सवार सबै ४ जना सकुशल छन ।

प्रहरीका अनुसार काठमाण्डौंबाट उडेको हेलिकप्टर निर्धारित समय भित्र बिराटनगर एयरपोर्ट पुग्न नसक्दा इनरुवामा ल्याण्ड भएको हो । निर्धारित समय भन्दा ढिला भएकाले एयर ट्राफिक कन्ट्रोलको “जहाँ छ त्यहीँ अवतरण गर्नु ” भन्ने निर्देशन बमोजिम पाइलटले सखुवागाछीमा हेलिकप्टर अवतरण गराएको प्रहरीको भनाई छ ।प्रहरीले दिएको जानकारी अनुसार पाइलटले एयरपोर्टमा अवतरण अनुमति नपाएपछि सुरक्षित स्थानको खोजीको क्रममा खेतमा ल्याण्ड गराएका हुन । सो क्रममा समथर स्थान सोचेर ल्याण्ड गर्ने क्रममा धानखेतमा हेलिकप्टर अवतरण भएको हुन सक्ने प्रहरीको अनुमान छ ।स्थानीयले भने हेलिकप्टरका पाइलटले असजहता महसुस गरेर उडान भर्दै गरेको अवस्थामा हिलाम्मे धानखेतमा आकस्मिक ल्याण्ड हुन पुगेको बताएका छन । उनीहरुले प्रकृति हेर्दा दुर्घटना टरेको बताए । स्थानीयले घटना छानविनको माग गरेका छन ।उनीहरुका अनुसार धानखेतमा ल्याण्ड भएको हेलिकप्टर अहिले भने चौरमा सारिएको छ । हेलिकप्टर मनोज भेटवालले चार्टर गरेर ल्याएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया