- अमर काफ्ले

इनरुवा । सुनसरीमा बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । वेपत्ता भएका दुईको शव फेला परेसँगै सुनसरीमा ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । प्रहरीका अनुसार वेपत्ता भएका भोक्राहाका कमलर मण्डल र इटहरीका योगेन्द्र तिवारीको बाढीले बगाएको अवस्थामा शव फेला परेको छ । सुनसरी प्रहरीका अनुसार ४ जना अझै वेपत्ता छन । वेपत्ता हुनेमा सबै इटहरीका रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी इटहरी क्षेत्रका घरहरु डुबानमा परेका छन । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार जिल्लाभरका डुबान पीडितलाई सुरक्षित स्थानमा सारिएको छ ।प्रहरीका अनुसार बाढीका कारण अधिकांश क्षेत्रमा घर डुबेका छन । डुबानमा परेपनि कतिपयले भने घर नछाडेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले कार्यालयमा प्राप्त विवरणका आधारमा दिएको जानकारी अनुसार जिल्लाभर ७ सय ५० घरधुरी विस्थापित हुँदा ३ हजार बढी प्रभावित बनेका छन । सुनसरी प्रहरीका अनुसार बाढीका कारण जिल्ला भित्रका चार स्थानका सडक अझै अवरुद्ध छन । प्रहरीका अनुसार चतरा–बराहक्षेत्र खण्ड पहिरोका कारण अवरुद्ध छ । त्यसैगरी सितागञ्ज–देवानगञ्ज, इनरुवा–दुहवी र गौतमपुर सडक खण्ड बाढीको पानीका कारण अवरुद्ध रहेको छ ।

तपाईको प्रतिक्रिया