- अमर काफ्ले

इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाले शनिबार संस्थाको १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।इनरुवा उवासंघका अध्यक्ष विरेन्द्र साहको अध्यक्षतामा सम्पन्न साधारण सभामा नगर प्रमुख राजन मेहताका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतको उपस्थिति रहेको थियो ।साधारण सभामा बोल्ने वक्ताहरुले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै अघि लैजानु पर्नेमा जोड दिए । उनीहरुले निजी क्षेत्रको लगानी बढाउन खासगरी स्थानीय तहले पहल चाल्न आवश्यक रहेको औल्याए ।

साधारण सभाको उद्घाटन नगर प्रमुख राजन मेहताले गरेका थिए । उद्घाटन पश्चात सम्बोधनका क्रममा मेहताले उवासंघ र नगरपालिका बिचको सम्बन्ध सुमधुर रहेको बताए । उनले नगरपालिकाको कार्यालय उद्योगी व्यवसायीको हितमा समन्वय गरी अघि बढ्न तयार रहेको बताए । उनले नगरपालिकाले सहयोग निरन्तर रहने समेत प्रतिवद्धता जनाए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सरकारले आर्थिक क्रियाकलापमा ७० प्रतिशत योगदान दिने निजी क्षेत्रको गुनासोहरुलाई सम्बोधन गरेर जानु पर्ने धारणा राखेका थिए । उनले उद्योगी व्यवसायीहरुलाई कर शिक्षा, राजस्व शिक्षा तथा करदातालाई सहजरुपमा कर तिर्ने वातवरण बनाउन उवासंघले भूमिका खेल्नु पर्ने बताए ।सधारण सभामा संस्थापक अध्यक्ष देखी निर्वतमान अध्यक्षसम्मलाई सम्मान गरिएको थियो । । सम्मानित हुनेहरुमा छगन शर्मा, कैलाश पञ्चारिया, पञ्चदेव मेहता, सुकदेव मेहता, इनरुवा २ का वडा अध्यक्ष रामचन्द्र पोदार लगायत रहेका थिए । उवासंघ इनरुवाका अध्यक्ष साह सहित कार्यक्रमका अतिथिहरुले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष साहले उद्योग वाणिज्य संघ इनरुवाले नगर क्षेत्रका उद्योगी,व्यापारी र व्यवसायी सँगै आम उपभोक्ता हीतलाई मध्यनजर गर्दै काम गर्दै आएको बताए ।

तपाईको प्रतिक्रिया