इनरुवा। बेमौसमी वर्षासँगैको बाढी र डुबान पीडितको समस्या बुझ्न घरदैलो अभियान थालेका इनरुवाका मेयरले सो क्रमलाई निरन्तरता दिएका छन । सो क्रममा मेयर राजन मेहताले पीडित परिवारलाई भेटेर क्षतिको बारे जानकारी लिनुका साथै राहतको सम्वन्धमा वडा अध्यक्षहरुबाट विवरण संकलन थालेका छन । नगर प्रमुख मेहताले विस्थापित परिवारको यकिन गरी सम्पूर्ण क्षतिको विवरण तयार पार्ने कार्यलाई तिव्रता दिन वडा अध्यक्षहरुलाई निर्देशन समेत दिदै आएका छन ।

तत्काल उपलब्ध गराउनु पर्ने राहतको सन्दर्भमा नगरपालिकाले व्यवस्था मिलाउने भएपनि क्षतिको अवस्था हेरी क्षतिपूर्ति दिलाउन प्रदेश र संघीय सरकार समक्ष सिफारिस गरिने मेहताले बताए । मेहता सहितको टोलीले नगरका सबै वडामा पुगेर पीडितको अवस्था बुझ्नुको साथै उनीहरुको बसोबास र खानपिन लगायतका विषयमा चासो राख्दै आएको छ । मेयर मेहताले क्षतिका आधारमा पीडित परिवारलाई राहत उपलब्ध गराउदै आइएको बताए ।

बाढी तथा डुबान पछिको अवस्था निरिक्षणको कार्यलाई प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला सहितको टोलीले निरन्तरता दिदै आएको छ । वडागत अनुगमनको कार्यलाई सम्वन्धित वडाका वडा अध्यक्षले अगुवाई गर्दै आएका छन । नगर भित्रको क्षतिको विवरण संकलनको कार्य जारी रहेको बताएको नगरपालिकाको कार्यालयले प्रारम्भिक जानकारी अनुसार इनरुवामा बाढी तथा डुबानका कारण ५ दर्जन बढी घर भत्केको र सयौं विगाहामा लगाइएको धान तथा तरकारी बाली नष्ट भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया