इनरुवा ८ डुम्राहामा प्लस टू कक्षा संचालनमा ल्याइएको छ । प्लस टूका कक्षाहरु शैक्षिक सत्रको सुरुवात संगै संचालनमा ल्याएको भएपनि औपचारिक उद्घाटन भने बुधबारबाट भएको छ । नगर प्रमुख राजन मेहताले वडा नम्बर ८ का अध्यक्ष रविन्द्र मण्डलले त्रिभुवन मा.बि.मा प्लस टूको औपचारिक उद्घाटन गरेका हुन । २०१३ सालमा स्थापना भएको विद्यालयले लामो पखाई पश्चात प्लस टू संचालनको अनुमति पाएको हो ।

औपचारिक उद्घाटन कार्यक्रममा पहिलो ब्याच कक्षा ११ का विद्यार्थीहरुलाई वडा कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको छ । ५४ जना विद्यार्थी भर्ना रहेको त्रिभुवन माबिले विद्यार्थी संख्या बढाउदै लैजानु मूख्य उद्येश्य रहेको जनाएको छ । जसकालागि प्रविधिमैत्री र गुणस्तरीय शिक्षालाई जोड दिइएको विद्यालयका प्रअ जागेश्वर साहले बताए । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राजन मेहताले लामो समयको प्रयास प्रश्चात गाउँमै प्लस टू संचालन सम्भव भएको बताए । मेहताले आफुहरुले चुनावी नारामै प्लस टू बनाउने भनी गरेको उद्घोष पुरा भएको बताए । उनले गाउँमै प्लस टू संचालन भएपछि अध्ययनका लागि टाढा टाढा जानु पर्ने बाध्यता अन्त्य भएको बताए ।

कार्यक्रममा धारणा राख्ने क्रममा वडाअध्यक्ष रविन्द्र मण्डलले आफुले अध्ययन गरेको विद्यालयमा जनप्रतिनिधिको हैसियतले प्लस टू संचालन गराउन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको बताए । उनले विद्यालयको पूर्वाधार बिकास तथा जग्गा खरीदमा वडा र नगरले आर्थिक सहयोग उपलब्ध गराएको बताए । मण्डलले गाउँमै गुणस्तरीय शिक्षालाई वडाले जोड दिने बताए । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले विद्यालयलाई नगरपालिकाको तर्फबाट प्रदान हुने साथ र सहयोग निरन्तरता रहने बताए । उनले नगरपालिकाको तर्फबाट विद्यालयको भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षामा सहयोग रहने बताए ।

निरौलाले ग्रामिण भेगमा संचालनमा आएको प्लस टूका कक्षाले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । साविक अर्ता बङ्कुलुवा भनिने स्थानमा रहेको विद्यालयलाई माबि तहमा स्तरवृद्धि गर्दै प्लस टू सम्मको पठनपाठन थालिएको हो । हाल सो विद्यालयमा शिक्षा र व्यवस्थापन विषयको पठनपाठन हुँदै आएको छ । त्रिभुवन माविले प्राविधिक शिक्षाका कक्षा समेत छिट्टै संचालनमा ल्याइने बताएको छ ।

तपाईको प्रतिक्रिया