विराटनगर । विराटनगरको कञ्चनवारिमा सवारी दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् । विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

कारको ठक्करले उछिट्टिएको डिभाइडरले लागेपछि पैदलयात्री विराटनगर ६० वर्षीय रमेशकुमार पाण्डेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कारले पैदलयात्रीलाई ठक्कर दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा२झ ३२६५ नम्बरको नेपाली सेनाको स्कारपियो गाडीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कार चालक सप्तरी राजविराज घर भएका दिलीपकुमार यादव, ब्रमदेव यादव, गिरीराज चौधरी र सुनिता यादव घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाली सेनाले चलाएको स्कारपियो र ट्रक चालक अहिले मोरङ प्रहरीको नियन्त्रणमा रहेका छन् । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया