इनरुवा। सुनसरीका प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय अनुगमन थालेका छन । प्रजिअ इन्द्रदेव यादवले पहिलो चरणमा जिर्ण सडक केन्द्रीत अनुगमन थालेका हुन । प्रजिअ यादवले सरोकारवाला सम्मिलित टोली बनाएर संयुक्त अनुगमन थालेका हुन । उनले पहिलो चरणमा दक्षिणी भेगको स्थलगत निरिक्षणको काम सकेको बताए । सर्वपक्षीय टोलीले सीमा क्षेत्रको अवस्था अवलोकन गर्नुको साथै कप्तान्गञ्ज–इनरुवा सडक खण्डको स्थलगत जानकारी लिएको प्रजिअ यादवले जानकारी दिए । सो क्रममा विशेषगरी सीमावर्ती क्षेत्र हुदै जिल्ला सदरमुकाम जोड्ने विभिन्न सडक खण्डको अवस्था नियालेको यादवले बताए ।

जिर्ण बनेका मूख्य तथा सहायक सडक मर्मत तथा स्तरोन्नति गर्ने उद्देश्यले आयोजना गरिएको सर्वपक्षीय अनुगमनका क्रममा प्रतिनिधि सभा सदस्य सीताराम मेहताका साथै प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिति रहेको थियो । हुलाकी मार्ग अन्तर्गत निर्माण चरणको प्रकृयामा रहेको सो सडक खण्डको जिर्ण अवस्था नियालेको टोलीले सर्वसाधारणको आवतजावत सहज बनाउन कामको रफ्तार बढाउनु पर्ने निष्कर्श निकालेको छ । अनुगमन टोलीले राष्ट्रिय गौरबको आयोजना अन्तर्गत पर्ने केसलिया खोलादेखि लौकही पुलचोक खण्डको हुलाकी मार्ग समेत निरिक्षण गरेको छ । सडक निर्माण कार्यमा ढिलाई भइरहेको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै अवस्था नियाल्न सर्वपक्षीय अनुगमनको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । यादवले जिर्ण बनेका सडक मर्मत तथा स्तरोन्नतिसँगै ढिलाई भएको क्षेत्रमा त्यसको कारण पहिल्याई समाधान निकाल्न सर्वपक्षीय अनुगमन थालिएको बताए ।
प्रजिअ यादवले स्थानीय तहका प्रमुख सहित सरोकारवालाको उपस्थितिमा गरिएको अनुगमनले प्रभावकारी नतिजा दिलाउने भएकाले समेत सर्वपक्षीय अनुगमनमा जोड दिइएको बताए । उनले सबै क्षेत्रमा परिणाममूखी अनुगमनको कार्यलाई अघि बढाइने बताए ।

तपाईको प्रतिक्रिया