- अमर काफ्ले

इनरुवा। दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । बर्जु सामूदायिक बिकास केन्द्रको आयोजनामा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीड तोडफोडमा उत्रिएको हो ।

महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएको हो । सो क्रममा चारवटा भारतीय सवारी साधनमा आगजनी भएको छ । भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नु परेको सुनसरी प्रहरीले जनाएको छ । कार्यक्रमकालागि आएका भारतीय कलाकारलाई नेपाल तर्फको प्रशासनले बिराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भीड तोडफोडमा उत्रिएको बताइएको छ ।

पुष २३ गतेबाट महोत्सव संचालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकक बिक्री गरेको थियो ।
सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोसित बन्दा पछिल्लो घटना सृजना हुन पुगेको जनाएको छ । उसले अहिले भने अवस्था सामान्य भैसकेको जनाएको छ । सुनसरी प्रहरीले चार वटा गाडी भएको पाइएको जनाएको छ । उसले क्षतिको विवरण भने संकलन भैरहेको जनाएको छ । सुनसरी प्रहरीले तोडफोडमा उत्रिएको भीडलाई हटाउन प्रयास गरेपनि आक्रोसित भीडले प्रहरीलाई प्रवेश नदिएको बताएको छ । उसले सम्भावित मानवीय क्षति रोक्न प्रहरीले बल प्रयोग नगरेको आक्रोसित भीड साम्य भएपछि अवस्था नियन्त्रणमा आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया