- अमर काफ्ले

इनरुवा। बर्जु घटना छानविनकालागि सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ ।सुनसरी प्रशासनले घटना छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ सदस्य रहेका छन ।त्यसैगरी राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी समेत छानविन समितिको सदस्य रहेका छन ।

सुनसरीका प्रुखख जिल्ला अधिकारी इन्द्रदेव यादवले गठित समितिलाई महोत्सवको क्रममा भएको आगजनी र तोडफोड सम्वन्धमा अध्ययन तथा अनुसन्धान गरी ५ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको बताए ।यसैबिच सुनसरी प्रशासनले घटना सम्वन्धमा पत्रकार सम्मेलन समेतको आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेको छ । सो क्रममा प्रशासनले महोत्सवमा भएको घटनामा बर्जु गाउँपालिको कार्यालय पूर्ण दोषी रहेको बताएको छ ।महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनको ठहर छ ।प्रजिअ यादवले महोत्सव रोक्न गरिएको आफुहरुको पटक पटकको प्रयासलाई गाउँपालिकाले वेवास्ता गरी मनोमानी गर्दा दुर्घटना निम्तेको बताएका छन । उनले मानवीय क्षति रोक्न भीडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गर्नु गरे । यादवले प्रहरी प्रशासनले संयमता अपनाउदा मानवीय क्षति भने हुन नपाएको बताए ।महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि आक्रोसित भीड तोडफोड र आगजनीमा उत्रिएको थियो । सो क्रममा चार वटा भारतीय नम्बर प्लेटको स्कारपियो, एक थान मोटरसाइकलमा आगजनी भएको थियो । क्षतिको विवरण भने संकलन भैरहेको प्रशासनले जनाएको छ ।घटना सम्वन्धमा स्वयं भारतीय कलाकार खेसारीलाल यादवले व्यक्तिगत फेसबुक पेज मार्फत आयोजकको कमजोरी भन्दै डेढ करोड बराबरको क्षतिपूर्तीको दाबी गरेका छन ।

तपाईको प्रतिक्रिया