- अमर काफ्ले

बर्जु घटना सम्वन्धमा बर्जु गाउँपालिकाको कार्यालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । गाउँपालिकाको तर्फबाट अध्यक्ष रघुनन्दन चौधरीले जारी गर्नु भएको विज्ञप्तिमा बर्जु घटना सन्दर्भमा बाहिरिएका विषय प्रशंगका बारेमा मिडियाले भ्रम छरेको उल्लेख छ ।


जारी विज्ञप्तिमा भनिएको छ “घटनाको मूख्य दोषी भनेर विभिन्न संचारमाध्यममा अध्यक्ष उपर दोषारोपण गरी समाचार प्रकाशन भएको छ । जुन तथ्यहीन, कपोकल्पित र भ्रामक छ । त्यस्ता समाचार प्रति विश्वासन नगर्न सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।
अध्यक्षद्वारा जारी विज्ञप्तिमा बर्जु महोत्सवको क्रममा भएको तोडफोड र आगजनीको जिम्मेबार आयोजक बर्जु सामूदायिक बिकास संस्था रहेको उल्लेख छ ।
विज्ञप्तिमा प्रशासनले जारी गरेको निर्देशन अटेर गरी आयोजकले महोत्सव संचालनमा राखेको व्यहोरा उल्लेख छ ।
कोरोना महामारीका बिच जारी महोत्सवका दौरान बोलाइएका भोजपुरी कलाकार खेसारीलाल यादवलाई नल्याउँदा आक्रोसमा सहभागि मध्ये केही उच्छुङ्खल व्यक्तिले तोडफोड तथा आगजनी गरेको गाउँपालिका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
साथै सो विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानविन समितिलाई गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने जनाइएको छ ।
बर्जु घटनाको भोलिपल्ट पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रशासनले तोडफोड र आगजनीको सम्पूर्ण जिम्मेबार गाउँपालिकाको कार्यालय रहेको ठहर गरेको थियो ।
पत्रकार सम्मेलनका क्रममा स्वयं प्रजिअ इन्द्रदेव यादवले आफुहरुको निर्देशनलाई अध्यक्षले अटेर गर्दा उक्त घटना हुन पुगेको बताउनु भएको थियो । घटना सम्वन्धमा एकले अर्को पक्षलाई दोषारोपण गरिरहँदा गाउँपालिकाको कार्यालयले भने मिडियाले अनावश्यक भ्रम छर्ने काम गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया