- अमर काफ्ले

प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बर्जु गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन ।गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष संगीता कुमारी रायका साथै वडा अध्यक्ष लगायतका जनप्रतिनिधिको उपस्थितिमा मन्त्री कार्कीले गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नु भएको हो ।


९९ लाख ७१ हजार ९ सय ८ रुपैंयाको लागतमा निर्माण सम्पन्न एकतले पक्की भवनमा हल सहित ७ वटा कोठा रहेको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले जानकारी दिए ।प्रमुख प्रशासकीय अधिकृत चौधरीका अनुसार नव निर्मित भवन उत्तरा कन्ट्रक्सन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको हो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाको लागि जग्गा उपलब्ध गराउने राधेश्याम चौधरी,रोमी शर्मा र बिनादेवी यादव लगायतलाई सम्मान गरिएको चौधरीले बताए ।
दुई तले भवन निर्माणको योजना रहेपनि तत्कालकोलागि एक तले संरचना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । भवन उद्घाटन सँगै कामकाजको तयारी थालिएकाले सेवा प्रवाह सहज र सरल हुने अध्यक्ष रघुनन्दन चौधरीले बताए ।


अध्यक्ष चौधरीले यसअघि पुरानो र साँघुरो भवनका कोठाबाट सेवा प्रवाह हुँदै आएकोमा नयाँ भवनबाट दिइने सेवाले सर्वसाधारणमा थप सहजता हुने बताए ।
यसैबिच भवनसँगै बर्जु गाउँपालिकाको कार्यालयले ९ औं गाउँसभाको समेत उद्घाटन गरेको छ । प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले गाउँसभा दुई दिन चल्ने बताए । अधिकृत चौधरीले गाउँसभामा विगतको समिक्षा र पालिका भित्र आउँदा दिनमा संचालनमा ल्याइने योजना तथा कार्यक्रमका सम्वन्धमा नीति निर्माण गरिने बताए ।

गाउँसभा तथा नव निर्मित भवन उद्घाटन पूर्व गाउँपालिका हातामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । लायन्स क्लब अफ हेल्थ प्रोफेसनल बिराटनगरले आयोजना गरेको कार्यक्रममा ३३ जनाले रक्तादान गरेका थिए । क्लबका अध्यक्ष समेत रहेका बर्जुको प्रमुख प्रशासकीय अधिकृत चौधरीको पहलमा गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया