- दिपेन्द्र यादव

इनरुवा। सुनसरी जिल्लाबाट वैदेशिक रोजगारीका लागि जाने यूवाहरुको लागि सामुदायीक विकास संस्था सिडियो सुनसरी मार्फत संचालीत सुरक्षित आप्रवासन परियोजनाले विभिन्न काम सुरु गरेको छ । वैदेशिक रोजगारीलाई सुरक्षीत र मर्यादित बनाउनका लागि सामी परियोजनाद्वारा संचालीत सूचना तथा परामर्श सेवा प्रदान केन्द्र स्तरोन्नती गर्ने काम सुरु भएको र इनरुवा नगर क्षेत्रको विभिन्न ठाउँमा होर्डिङ बोर्ड राख्ने काम समपन्न भएको सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले बताए ।

इनरुवा नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत कार्यक्रम अन्तर्गत वैदेशिक रोजगार प्रर्वद्धनका लागि १० लाख रुपैँया विनियोजन गरिएको थियो । सो विनियोजित रमकबाट सामुदायीक विकास संस्था (सिडियो) सुनसरीले इनरुवा नगर क्षेत्रको मुख्य चौकहरुमा होर्डिङ बोर्ड राख्ने काम समपन्न गरेको छ भने जिल्ला प्रशासन कार्यालय सुनसरीमा संचालीत आप्रावासी सूचना केन्द्रको स्त्तरोन्नतीको काम सुरु भएको बताए ।

आप्रावासी सूचना केन्द्र सुनसरीमा वैदेशिक रोजगारीमा जाने र आउने यूवाहरुलाई हालको विशेष परिस्थितीमा कोभिड १९ का कारण सहज सेवा दिन नसकेकोले सुरक्षित आप्रवासन परियोजनाले इनरुवा नगरपालिकासँग सूचना केन्द्र स्त्तरोन्नतीका लागि सहयोग माग गरेको बताए । हाल बिषम परिस्थिती कोभिड १९ को समयमा आप्रवासी सूचना केन्द्र सुनसरीको सम्पूर्ण व्यावस्थापन सामी परियोजनाले गरेतापनि त्यसको स्त्तरोन्नती इनरुवा नगरपालिकाले सहयोग गरेको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा संचालित रहेको आप्रावासी सूचना केन्द्र एउटा कोठामा मात्र सिमित रहेकाले त्यस सूचना केन्द्रको स्त्तरोन्नती गरी तीन कोठाको सूचना केन्द्र बनाउन लागिएको कार्यक्रम संयोजक भट्टराईले जानकारी दिए । कार्यक्रम संयोजक भट्टराईका अनुसार आप्रवासी सूचना केन्द्रमा आउने सेवाग्राहीहरुलाई एउटा कोठामा सहज सूचना पाउन नसकेको गुनासोहरु दिन प्रतिदिन आउने गरेकाले आप्रवासी सूचना केन्द्र स्त्तरोन्नतीका लागि नगरपालिका सँग पहल गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा संचालीत आप्रावासी सूचना केन्द्र स्त्तरोन्नती पछि महिलाहरुलाई सूचना दिनका लागि छुट्टै, पूरुषहरुलाई सूचना दिन छुट्टै र सुत्केरी महिलाहरुलाई स्तनपान गर्नको लागि छुट्टै कोठा गरी तीन कोठे भवनको काम सुरु भएको उनले बताए । सामुदायीक विकास संस्था सिडियो सुनसरी मार्फत संचालीत सुरक्षित आप्रवासन परियोजना (सामी) का कर्मचारीहरुले कोभिड १९ मा पनि वैदेशिक रोजगारी गुमाएका व्यक्तिहरुलाई सत्य तथ्य सूचना प्रवाह गर्दै आएको कार्यक्रम संयोजक भट्टराईले बताए ।

सिडियो सुनसरी मार्फत संचालीत सुनसरीको इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा सामी परियोजनाले २०७६ सालदेखि नै वैदेशिक रोजगारीमा जाने युवायुवतीहरुलाई वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले सूचना तथा परामर्श केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको परियोजनाका कार्यक्रम संयोजक भट्टराईले बताए। सामीले वैदेशिक रोजगारीलाई सहज, सुलभ र भरपर्दो बनाउन जिल्ला सदरमुकाम इनरुवामा सूचना तथा परामर्श सेवा प्रदान गर्दै आएको छ।

सामीका रिटर्नी स्वयंमसेवकहरुले इनरुवा नगरपालिका र भोक्रहा नरसिंह गाउँपालिकाको गाउँगाउँमा सूचना तथा परामर्श दिने गरेको भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीय मनोज कुमार मेहताले बताए । सामीका रिटर्नी स्वयंमसेवकहरुले खाडी मुलुकलगायत वैदेशिक रोजगारीमा जाने युवाहरुलाई जाँदा कति पैसा लाग्ने, कसरी जाने, के सम्झौता गर्ने गराउने, कस्तो सीप सिक्ने, ठगीबाट कसरी जोगिने, कुन देशमा कस्तो हावापानी छ भन्ने लगायतका विभिन्न विषयमा निःशुल्क सूचना तथा परामर्श दिइरहेका छन् ।

परियोजना सञ्चालनपछि ती स्थानीय तहका वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुष आफ्नो वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा जानकार हुने, वैदेशिक रोजगारीका क्रममा ठगी वा शोषणमा परेका पीडित आप्रवासी कामदारलाई कानूनी उपचार तथा यससम्बन्धी अन्य सेवा प्राप्त हुने परियोजनाको मुख्य उद्देश्य रहेको सामी परियोजना सुनसरीका जिल्ला अधिकृत देव नारायण चौधरीले बताए ।

तपाईको प्रतिक्रिया