परराष्ट्र मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ ।युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा ती नेपालीहरूको उद्धार गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयको तयारीका बारेमा सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिनन्–‘अहिलेसम्म त्यहाँ रहेका कुनै नेपालीले आपत् प¥यो भनेर दूताबाससँग सहयोग मागेको छैन ।
आवश्यक परे यसअघि संकटग्रस्त अफगानिस्तानबाट नेपालीको उद्धार गरिए झैँ त्यहाँबाट पनि नेपालीलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था गर्नेछौँ ।’ उनले युक्रेनको घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको बताइन् ।युक्रेनमै रहेका नेपालीहरूले पनि आत्तिइहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् । विगत ४३ वर्षदेखि युक्रेनमा बस्दै आएका एक नेपाली जयन्त नेपालले पश्चिमेली सञ्चारमाध्यमहरूले हल्ला फिँजाएको जस्तो स्थिति नरहेको बताउँदै भने–‘आत्तिनुपर्ने अवस्था छैन । स्थिति सामान्य नै छ ।’उनका अनुसार युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा करिब ३० परिवार नेपाली बसोबास गरिरहेका छन् भने म्यान पावरबाट युक्रेन भित्रिएकाहरूको संख्या सयको हाराहारीमा छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।