काठमान्डाैं / रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा वर्षौंदेखि बेवारिसे रूपमा मिल्काइएका छन् । ती पाङ्ग्रा मक्किएका र कुहिएका छन् । काम लाग्दैनन् । दशकौँदेखि जावलाखेलमा थन्क्याइएका ती पुराना पाङ्ग्राले अब रथको भार थेग्न सक्दैनन् । केही वर्षअघि स्थान अभाव भएकाले पुल्चोकमा राखिएका आठवटा पाङ्ग्रालाई नष्ट गरिएको थियो । रथको सबैभन्दा तल प्रयोग हुने ३२ हातका मोटा काठ (धमा) पनि थन्क्याइएका छन् । जावलाखेलमा एउटा र पुल्चोकमा चारवटा पुराना धमा बेवारिसे छन् ।

रातो मच्छिन्द्रनाथको रथका लागि काठसम्बन्धी काम वाराही जातिले तयार गर्ने परम्परा छ । वाराही नाइके दिलकुमार वाराहीले पुराना पाङ्ग्रा अब काम नलाग्ने भन्दै थप्नुभयो, “त्यसलाई राख्न स्थान अभाव भइरहेको छ । ती व्यवस्थित गरिदिनू भनेर गुठी संस्थानमा निवेदन दिएका थियौँ तर निवेदनको वास्ता गरिएन ।”पाङ्ग्रा राख्ने स्थान अभाव छ । पुराना पाङ्ग्राले स्थान ओगटेपछि जावलाखेलको टहरोमा हाल प्रयोगयोग्य रहेका चारवटा पाङ्ग्रालाई जेनतेन कोचेर राखिएको छ । टहरो पूरै बन्द नभएकाले परेको पानी पाङ्ग्रासम्म पुग्ने गरेको छ । पुराना केही पाङ्ग्रा टहराबाहिर पनि त्यत्तिकै फ्याँकिएको छ ।

पाङ्ग्राका लागि आवश्यक पर्ने सानदान जातको काठ बाराको अमलेखगञ्जबाट ल्याइने गरिएको छ । रथलाई थाम्न सक्ने र गुडाउँदा नफुट्ने हुँदा त्यस जातको काठ प्रयोग गर्ने गरिएको छ । सानदानको काठ अब दुर्लभ हुँदै गएको छ ।काठ ललितपुरमा भियाउन नाप जाँचदेखि वन कार्यालयको अनुमतिसम्मका प्रक्रिया पूरा गर्न कम्तीमा डेढ महिना लाग्ने गरेको छ । एक ट्रक काठबाट चारवटा पाङ्ग्रा तयार हुन्छ र ललितपुरसम्म ल्याइपु याउँदा करिब पाँच लाख रुपियाँ खर्च लाग्ने गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया