- दिलिप कुमार साह

राजविराज। सप्तरीको राजगढ गाउँपालिकामा शुक्रबार स्वास्थ्य कार्यालय सप्तरीबाट आएका टोलीले अध्यक्षका परिवार सहित १९ जनाको स्वाब परिक्षण गराएकोमा ६ जनामा कोरोना पुष्टि भएको छ । अध्यक्ष सहित उनका परिवारका ४ जना कृषि शाखाका संयोजक र अध्यक्षका ट्रयाक्टर चालकमा कोरोना संक्रमण देखिएको छ। स्वाब परीक्षणको रिपोर्टमा आफूसहित जेठा छोरा, २ नाती संक्रमित भएको गाउँपालिका अध्यक्षले जानकारी दिए । संक्रमित हुनेमा राजगढ गाउँपालिका– ३ का ६५, ४०, १५ र ८ वर्षीय हुन् । यसैगरी कृषि शाखाका संयोजक राजविराज नगरपालिका–७ का ५७ वर्षीय र ट्रयाक्टर चालक राजगढ गाउँपालिका–३ का ४० वर्षीय रहेका छन् ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजगढ गाउँपालिकाका अध्यक्षसहित सप्तरीका १० जना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार अन्य संक्रमित हुनेमा राजविराज नगरपालिका–६ का ४४ वर्षीय, सुरुङ्गा नगरपालिका–१ का ३२ वर्षीय, महादेवा गाउँपालिका–४ का २८ वर्षीय पुरुष र बिष्णुपुर गाउँपालिका–७ का १६ वर्षीया महिला संक्रमित भएका छन् ।

यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार ३१७ पुगेको छ । जसमा २ महिला सहित १८ जनाको मृत्यु भएको छ । सप्तरीमा हालसम्म १ हजार ६२ जना संक्रमित निको भएर सामान्य जीवनमा फर्किएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हाल राजविराजस्थित आइसोलेसन केन्द्रमा ३६ जना, कञ्चनरुप नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकास्थित आइसोलेसन केन्द्रमा ३/३ जना संक्रमित रहेको यादवले बताए । राजविराजस्थित सप्तरी कारागारमा ६ जना र नेपाली सेनाको राजविराजस्थित भिम दल गणमा १४ जना संक्रमित आइसोलेटेड भएर बसेका छन् । पछिल्लो परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपीसहित सम्पूर्ण प्रहरीहरु निसंक्रमित भएको स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया