अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबल गर्ने / नगर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद उत्कर्षमा पुगेका बेला अर्को सत्ता साझेदार एकीकृत समाजवादीले भने एमसीसी संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । तर, यसका लागि एकीकृत समाजवादीले संसद्मा जारी अवरोध हटाउनुपर्ने सर्त अघि सारेको छ ।

शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन भएको अवस्थामा एमसीसी टेबल गर्न बाधक नबन्ने तर संशोधन नगरी अहिलेकै अवस्थामा पारित गर्न नसकिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता जगनाथ खतिवडाले दलहरूबीच सहमति कायम भएर संसद्मा जारी अवरोध हटेको अवस्थामा एमसीसी टेबल गर्न पार्टी बाधक नबन्ने बताउनुभयो ।उहाँले भन्नुभयो– ‘एमसीसीका कतिपय बुँदामा हाम्रो पार्टीको असहमति छ, संशोधन नगरी यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिँदैन । एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।’

एकीकृत समाजवादी यो निर्णयले माओवादी केन्द्र थप नैतिक संकटमा परेको छ । माओवादी केन्द्रका नेता देव गुरुङले संसद् अवरुद्ध रहेको अवस्थामा राष्ट्रिय महत्वको विषयसँग जोडिएको सम्झौता जबरजस्ती रूपमा टेबल गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सदन अवरुद्ध छ, सदन सञ्चालन गराएर मात्र टेबल गर्न सकिन्छ, राष्ट्रसँग जोडिएको मुद्दामा दलहरूबीच साझा धारणा बन्न आवश्यक छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया