इनरुवा घर भई लण्डन बस्दै आएका युवा व्यवसायी मनोज कुमार मेहता एमाले प्रवेश गरेको विषयले नगरमा आगामी मेयरको विषय केन्द्रित राजनैतिक तरङग पैदा गराएको छ ।अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट टिकटकालागि निकै दौडधुप गरेका मेहता अन्ततः लोकतान्त्रिक फोरमबाट मैदानमा होमिएका थिए ।त्यस बेला तेस्रो स्थानमा रहेका मेहता हालसालै एमाले प्रवेश गरेका छन । निर्वाचन मिति नजिकिदै गर्दा उनको एमाले प्रवेशलाई जोकोहीले मेयरको आकांक्षीका रुपमा बुझेका छन ।

नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको हातबाट पाटी प्रवेश गरेका मेहताको विषयलाई इनरुवाको राजनैतिक वृतमा निकै चासोको रुपमा हेरिएको छ । सबैभन्दा बढी उनको प्रवेशको विषयले सुनसरी एमालेमै खैलाबैला उत्पन्न हुन सक्ने अवस्थाको सृजना गराएको छ ।स्रोतका अनुसार मेहतालाई नगर प्रमुखको टिकट दिलाउने गरी पार्टी प्रवेश गराइएको छ । पार्टी प्रवेशका क्रममा स्वयं जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितिले समेत मेहताको उम्मेदवारी दाबीलाई मलजल पुगेको छ ।

स्रोत भन्छ, “ इनरुवामा कांग्रेसलाई पराजित गर्न सक्ने पार्टी भित्रको मजबुत उम्मेदबारका रुपमा मेहतालाई हेरिएको छ । निकै अर्थ र कारण छ । जस अनुसार नै भण्डारीले मेहतालाई मेयरको टिकट दिलाउने पक्कापक्की सहित पार्टी प्रवेश गराएका हुन ।”स्रोतले बताए अनुसार पार्टी प्रवेशकालागि मेहताले यस अघिबाटै आफ्नो मेयर पदको एजेण्डा जिल्ला तहका नेताहरु समक्ष राख्दै आएका थिए । पटक पटकको प्रयासका बाबजुत जिल्लाबाट लाइन क्लियर हुने संकेत नदेखेपछि मेहता हालका जिल्ला अध्यक्ष भण्डारी मार्फत ओली समक्ष पुगेर पार्टी प्रवेश गरेका हुन ।मेहताले यस अघिबाटै आफुलाई मेयरको दाबेदारका रुपमा उभ्याई रहँदा उनको पार्टी प्रवेशको विषयले विशेषगरी नगर भित्रका एमाले नेता तथा कार्यकर्तासँगै पार्टीबाट मेयरका आकांक्षी रहेकाहरु बढी सशंकित देखिएका छन । मेहताको पार्टी प्रवेश र सम्भावित दाबेदारीको विषय चुलिंदा मेयरमा एमालेबाट आकांक्षा राख्दै आएकाहरु ओझेल पर्लान, पारिएलान वा उनीहरुले के गर्लान भन्ने विषय समेत यतिबेला सतहमा देखिएको छ ।

एमालेबाट इनरुवाको मेयरमा खेमराज पोखरेल, इन्द्र पोखरेल र सरोज पोखरेलको नाम चर्चामा छ । उनीहरुसँगै प्रेम पौडेल, कालुराम गुरुङले समेत मेयरमा इक्षा जाहेर गर्दै आएका छन । नाम बताउन नचाहने एमाले नेताहरुले टुरिष्ट उम्मेदवारलाई उठाइए त्यसले पार्टीमा अन्र्तघातको अवस्था सृजना गराउन सक्ने तर्फ पार्टी पंक्ति सचेत हुन जरुरी रहेको बताएका छन ।उनीहरुले पार्टी भित्र असन्तुष्टि र गुटगत असहयोग हुने सम्भावना रहने हुँदा त्यसको प्रत्यक्ष लाभ भने विपक्षी दलका उम्मेद्वारलाई पुग्ने तर्फ सचेत रहनु पर्ने बताएका छन । उनीहरुले साझा उम्मेदवार बन्न नसके काँग्रेसबाट उठ्ने उम्मेदवारलाई सहज हुने बताएका छन ।उता एमालेका नव प्रवेशी मनोज कुमार मेहताले भने आफु एमालेमा प्रवेश गर्नुलाई एमाले पार्टीको लोकप्रियता र नेता केपी ओलीको महानतालाई प्रमूख कारक बताएका छन । उनले आफ्नो प्रवेशले इनरुवा एमाले मजबुत भएको भन्दै अब हामी जित्छौं भन्ने धारणा राखेका छन ।

उनले सो कुरा काठमाण्डौबाट इनरुवा आउने क्रममा पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा व्यक्त गरेका हुन । मेहतालाई उनका शुभेच्छुक र शुभचिन्तकको भीडले बिराटनगर विमानस्थलबाट स्वागत सहित इनरुवा ल्याएकाे थियो ।यसअघि फोन सम्पर्कको क्रममा हामीले मेहता समक्ष प्रतिकृया लिने क्रममा उनले भनेका थिए “मेयरमा आफ्नो उम्मेदवारीको विषय भने अहिलेनै यसै हो भनेर दाबी गर्नु उचित हुँदैन । नगरमा अन्य आकांक्षीहरु छन । पार्टीको आधिकारिक निर्णयनै अन्तिम र सर्वमान्य हुनेछ । पार्टीले विश्वास गरेर टिकट दिएमा भने पछि हट्दिन ।”मेहताको एमाले प्रवेश । ओलीबाट स्वागत । जिल्ला अध्यक्षको दौडधुप र पार्टी कार्यालयमा गरिएको स्वागत–सम्मानलाई इनरुवा एमाले वृतमा मात्रै नभई आम नगरवासीले समेत निकैनै चासोका रुपमा हेरेका छन ।सो विषयसँगै काँग्रेस तर्फका सम्भावित उम्मेदवार र उनीहरुको पोजिसन समेतको चर्चा हुन थालेको छ ।नेपाली काँग्रेसको तर्फबाट इनरुवा नगर प्रमुखको पदमा हालका मेयर राजन मेहताले कार्यकाल दोहोर्याउने संकेत गरी सकेका छन । काँग्रेसबाट पार्टी सभापति समेत रहेका केदार भण्डारी समेतले मेयर लक्षित आन्तरिक तयारी अघि बढाउँदै आएका छन ।पछिल्लो परिदृष्यले नगर एमाले भित्र खैलाबैलाको माहोल सृजना हुन स्पष्ट संकेत देखा पर्दैगर्दा कांग्रेसी खेमा भने पर्ख र हेरको अवस्थामा देखिएको छ । अधिकांश काँग्रेसीको बुझाईमा भने नगरमा प्रतिष्पर्धी जो भएपनि मेयरमा आफ्नो पार्टी हाबी हुने दाबी छ ।२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा इनरुवा नगर प्रमुख तर्फ नेपाली काँग्रेसका राजन मेहताले १०९८७ मत ल्याएर बिजयी बनेका थिए । उनका प्रत्यासी एमालेका पोष्टकुमार नेपालले ९८१३ मत ल्याउँदा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का उम्मेदबार मनोज कुमार मेहताले तेस्रो स्थानमा रहँदै २६१५ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया