इनरुवा। सुनसरीको दुहवीको एक परिवारले इटहरीका पत्रकार पिबी दियाली माथि रकम बार्गेनिङको गम्भिर आरोप लगाएको छ । आफुलाई पीडित पक्ष बताउने टिकाराम कार्कीको परिवारले निवासमा पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार पिबी दियाली माथि रकम बार्गेनिङको आरोप लगाएको हो ।दियाली उपर सुनसरीको दुहवीको कुटपिटको घटना मिलापत्रको विषयमा रकम मोलमोलाईको आरोप लगाइएको हो ।कार्की परिवारले पत्रकार सम्मेलनको आयोजना गरी घटना मिलाई दिने भन्दै दियालीले आफुहरुसँग ५ लाख रकम माग गरेको बताएको हो । पत्रकार सम्मेलनमा उनीहरुले दियालीले आफुहरुलाई इटहरीमा भेट्न बोलाएर रकम बार्गेनिङ गरेको बताए ।

टिकारामकी बुहारी शारदा कार्कीले पत्रकार सम्मेलन मार्फत घटना मिलाउन दियालीले आफुहरुसँग रकमको मोलमोलाई गरेको आरोप लगाएकी हुन । उनले आफु सहित परिवारका अन्य सदस्य दियालीलाई भेट्न पुगेको समयमा घटनालाई मिलाउनु पर्छ भन्दै आफुहरुसँग रकमको मोलमोलाई गरिएको बताइन । शारदाले आफुहरुसँग सुरुमा ५ लाख र त्यसपछि ४ लाख मात्रै भएनी हुने भनी माग गरेको बताइन । उनीसँगै पत्रकार सम्मेलनमा उपस्थित परिवारका तर्फबाट बोल्ने अन्य सदस्यले समेत दियाली उपर आरोप लगाएका छन । उनीहरुले पत्रकार दियालीकै कारण केस उचालिएको र आफ्नो परिवारसँग रकमको बार्गेनिङ गरेको बताए । पत्रकार सम्मेलनमा सो परिवारले दियालीकै कारण सामान्य घटनालाई जातिय रुप दिन खोजिएको समेत आरोप लगाएको छ ।

उता रमकको बार्गेनिङ गरेको आरोप लगाइएका पत्रकार तथा दलित अधिकारकर्मी पिबी दियालीले आफुमाथि लगाइएको सबै आरोप कपोकल्पित र झुटो भएको बताएका छन । दियालीले आरोप लगाउने कोही कसैलाई आफुले नचिन्ने र नभेटेको भन्दै रकम बार्गेनिङको विषय पूर्णतया निराधार भएको बताए । उनले आफुसँग भेटेको र रकम बार्गेनिङ गरेको भनेर आरोप लगाउने व्यक्तिलाई खुलेर सामुन्नेमा आएर कुरो गर्न चुनौति दिएका छन । दियालीले आफुले घटना सम्वन्धमा दलित अधिकारको कुरोमा जोड दिंदै पीडित पक्षलाई न्याय दिलाउन पहल गरेको बताए । उनले किटानी जाहेरी दिइएका व्यक्तिलाई प्रहरीले पक्राउ नगरेकाले दलित समूदाय अधिकारको आन्दोलनमा होमिने तयारीमा रहेको बताए । उनले घटनामा संलग्न भनिएका व्यक्तिहरुलाई पक्राउ गरी छानविन गरिए सबै वास्तविकता बाहिर आउन मद्यत पुग्ने बताए । कुटपिटको विषयमा परियार पक्षले अघिल्लो दिन पत्रकार सम्मेलन गरेको थियो । सो क्रममा परियार परिवार सहित दलित अधिकारकर्मीको समूहले कुटपिटमा संलग्नलाई कार्वाहीको माग गरेको थियो । यता इलाका प्रहरी कार्यालय दुहवीले जातीय गालीगलौज तथा कुटपिटमा संलग्न भनी किटानी जाहेरी दिइएका व्यक्तिहरु रोशन कार्की, रवि कार्की र सन्तोष कर्णलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जनाएको छ । उसले घटना सम्वन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया