- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं / इनरुवा नगरपालिकाले नगरवासीको नि:शुल्क कोरोना परीक्षण गराउन थालेको छ । उसले पहिलो चरणमा कोरोना परीक्षण गराउन १ सय ६० जनाको स्वाब संकलन गरेको छ ।

नगरपालिकाको कार्यालयले नगर भित्र रहेका यस अघिका संक्रमित र लक्षण देखिएका व्यक्तिसँगै क्लोज कन्ट्याक्टमा परेकाहरुको पहिचान गरीे नि:शुल्क परीक्षण गराउन लागेको जनाएको छ ।वडा कार्यालयबाट प्राप्त सिफारिसका आधारमा स्वाब संकलन गरिएको स्वास्थ्य अधिकृत सन्तोष देवले बताए । उनका अनुसार विषम परिस्थितिका बिच स्याम्पल कलेक्सनका आधारमा कोरोना परीक्षणलाई जोड दिइएको छ ।

सरकारले कोरोना परीक्षण र संक्रमितको हकमा स्वयं उपचार गर्नुपर्ने भनि निर्देशिका जारी गरेसँगै त्यसको सर्वत्र विरोध भैरहदा इनरुवा नगरपालिकाको कार्यालयले भने सबै वर्गका नागरिकको हकमा नि:शुल्क परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । नगरपालिकाले यसअघि समेत निःशुल्क परीक्षणको व्यवस्था मिलाउदै आएको थियो । उसले सकेसम्म सो क्रमलाई जारी राख्ने जनाएको छ ।नगर प्रमुख राजन मेहताले समुदायमा बढ्दो क्रममा रहेको संक्रमणलाई मध्यनजर गर्दै निकै लामो कसरत र प्रयासपछि नगरवासीको हकमा नि:शुल्क कोरोना परीक्षणको व्यवस्था मिलाउन सफल भएको बताए ।उनले सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल सहित सुरक्षा निकायका प्रमुखहरुको संयुक्त पहलमा नगरवासीको नि:शुल्क कोरोना जाँच सम्भव भएको बताए । जसलाई निरन्तरता दिइने उनले बताए । परीक्षणमा असहज परिस्थिति आए सोको नगरपालिकाको कार्यालयले व्यवस्थापन मिलाउने समेत नगर प्रमुख मेहताले बताए ।



तपाईको प्रतिक्रिया