नेकपा एमाले इनरुवा नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगर कमिटीद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा काँग्रेसले भद्रगोल बनाएको इनरुवालाई परिवर्तनको आभास दिलाउने उल्लेख छ ।

नगर कमिटी अध्यक्ष प्रेम पौडेलद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा २०७४को स्थानीय तहबाट निर्वाचित काँग्रेसका जनप्रतिनिधिले नगरवासीको हीतमा काम गर्न नसकेको आरोप लगाइएको छ ।प्रतिवद्धता पत्रमा काँग्रेसका जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै विकल्पका रुपमा आफ्नो पार्टीका उम्मेद्वारलाई अघि सार्न लागिएको उल्लेख छ । एमाललेले भनेको छ , “काँग्रेसले लछारपाटो लाएन । अब हामी गछौं ।”प्रतिवद्वता पत्रमा भनिएको छ , “अहिलेका जनप्रतिनिधिले जनअपेक्षा विपरित काम गर्न सकेनन । केवल काँग्रेसका जनप्रतिनिधिले एमालेको विगतको पूर्वाधार र बिकासलाई मात्र भँजायो । अनियमितता र करको ब्यापक दुरुपयोग भयो । हचुवाको भरमा कार्यक्रमहरु गरिए ।”

पत्रकार सम्मेलनमा बताइए अनुसार काँग्रेसका जनप्रतिनिधिले बिगारेको नगरलाई एमालेबाट निर्वाचित भई आउने जनप्रतिनिधिले सुधार्ने छन । नगरवासीको हीतलाई ध्यानमा राखी समग्र नगरको बिकासलाई प्राथमिकतामा राखिने छ ।

सार्वजनिक प्रतिवद्धता पत्रमा शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा वातावरण, कृषि तथा आर्थिक विकास, उद्योग व्यवसाय, सुशासन र सुरक्षाको क्षेत्रसँगै महिला बालबालिका तथा जेष्ठ नगारिक, रोजगारी, युवा विद्यार्थी तथा खेलकुद, सामाजिक उत्तरदायित्व, भौतिक पूर्वाधार निर्माण र सूचना तथा सञ्चारको क्षेत्रमा ठोस र प्रभावकारी काम गर्ने उल्लेख छ ।पत्रकार सम्मेलनमा एमालेका नेता तथा इनरुवाको मेयरका सम्भावित उम्मेद्वार खेमराज पोखरेलले पत्रकारहरुको जिज्ञासा मेटाएका थिए । एमाले नगर कमिटीले प्रतिवद्धता पत्र सार्वजनिक गरेपनि उम्मेद्वारको नामावली भने सार्वजनिक गरेको छैन । उसले उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेकाले नामावली सार्वजनिक गर्न नसकिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया