इटहरीबाट पक्राउ परेका ८ जना जुवाडेको आज म्याद थपिदै छ । मंसिर १ गते राती रुद्राक्ष पार्टी प्यालेसबाट पक्राउ परेकाहरुलाई आज सुनसरी प्रहरीले म्याद थप गर्न लागेको हो । नगद २ लाख ८० हजार २ सय ५५ रुपैया सहित पक्राउ परेकाहरुको हकमा तिहारको सार्वजनिक बिदा परेका कारण म्याद थप हुन सकेको थिएन् । सुनसरी प्रहरीका अनुसार जुवाडेहरुको हकमा आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा म्याद थपका लागि पुर्याइने छ । प्रहरी स्रोतका अनुसार ७ दिनको म्याद सहित जुवाडेहरुलाई प्रशासन समक्ष उभ्याउन लागिएको हो ।

तिहारको सार्वजनिक बिदाका कारण १ गते राती पक्राउ परेका ८ जनालाई सुनसरी प्रहरीले अनुसन्धानका लागि थुनामा राख्दै आएको जनाएको छ । आज कार्यालय खुले लगत्तै उनीहरुलाई म्याद थपको प्रकृयामा लगिने बताएको सुनसरी प्रहरीले त्यसपछि अन्य कानुनी प्रकृया अघि बढ्ने जनाएको छ । प्रहरीका अनुसार म्याद थप पश्चात थुनामा रहेकाहरुको हकमा पालैपालो बयान सुरु हुनेछ । प्रहरीले ७ दिनको म्याद माग्ने बुझिएको र सोही अनुरुप प्रशासनले म्याद दिए पक्राउ मितिले थुनामा रहेकाको हकमा आज ३ दिन हुनेछ र ७ दिन भित्रमा प्रहरीले उक्त मुद्दा प्रशासनमा बुझाउने छ । यदी प्रशासनबाट ५ दिनको मात्र म्याद पाए प्रहरीले सोही अनुरुपको मुद्दाको प्रकृया अघि बढाउनु पर्ने छ ।

बयान नसकिएको वा अन्य अनुसन्धान बाँकी रहे प्रहरीले थप म्याद माग्न समेत सक्ने छ । सुनसरी प्रहरीका अनुसार प्रहरीले अनुसन्धानको लागि २५ दिन थुनामा राख्न पाउने कानुनी व्यवस्था रहेको छ । प्रहरी स्रोतका अनुसार मुद्दा फाँटमा चाप धेरै छ । अन्य प्रकृया थाती राखेर जुवाडे पक्राउको विषयमा मात्रै लगातार काम गर्ने हो भने पनि अझै केहि दिन लाग्ने स्पष्ट छ । म्याद थप लगायतको निर्णय प्रजिअ मार्फत हुने भएकाले प्राप्त आदेश बमोजिम प्रहरीले पक्राउ परेकाहरुको हकमा मुद्दाको प्रकृया अघि बढाउने छ ।फैसला कार्यान्वयनको अधिकार जिल्ला प्रशासन कार्यालयमा निहित हुने र सो सम्वन्धमा प्रजिअले निर्णय गर्ने प्रहरीको भनाई छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुको हकमा जुवा ऐन अन्र्तगतको मुद्धामा कार्वाहीको प्रकृया अघि बढाइएको छ ।

जुवा ऐन अन्र्तगतको नयाँ व्यवस्था अनुसार पहिलो पटक खेल्ने वा खेलाउनको हकमा तीन महिना सम्म कैद वा ३० हजार सम्म जरिवाना हुन सक्ने छ । दोस्रो पटकको हकमा एक वर्ष सम्म कैद वा ५० हजार सम्म जरिवना तोकिएको छ । जुवा खेल्न प्रयोग भएका साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति भने जफत हुने कानुनी व्यवस्था रहेको छ ।
इटहरीबाट जुवा खेलेको अवस्थामा नगद सहित पक्राउ परेका दिलकुमार पुरी, मुकेश बस्नेत, नबिन गुरुङ, भक्तबहादुर पुरी, नारायण गिरी, रमेश भनिने धनबहादुर पुरी, हरिराम बानिया र बिष्णु बास्तोला त्यसयता जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । उनीहरुलाई प्रहरीले नयाँ भवनमा बस्ने र रकम तिर्ने गरी क्यानटिनमा खाने व्यवस्था मिलाई दिएको छ ।

तपाईको प्रतिक्रिया