अमर काफ्ले/ संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम युएनडिपीले इनरुवा नगरपालिकालाई उपलब्ध गराउँदै आएको सहायता रोकेको जनाएको छ ।नगरपालिकासँग भएको सम्झौता बमोजिमको काम सन्तोषजनक नभएको र सर्त अनुसारको काम भएको नपाइएकाले तत्कालकालागि अन्य कुनै सहायता उपलब्ध नहुने युएनडिपीले जनाएको हो । सो कुरा युएनडिपी जनकपुर परियोजना कार्यालयका फिल्ड अफिसर धन बहादुर चन्दले बताएका हुन ।

फोन सम्पर्कका क्रममा चन्दले भने, “इनरुवा नगरपालिका र युएनडिपी बिचको सम्झौता अनुसार निर्माण गर्ने भनिएको संरचनामा सर्त अनुसार काम भएको पाइएन । प्राविधिक रुपले हेर्दा कमसल कार्य भएको पाइयो । निकाशा दिइएको रकमको उचित सदुपयोग भएको नपाईपछि सम्झौताको पहिलो वर्षमै परियोजना रद्द गरिएको हो । ”
उनले थपे, “एक वर्ष भित्रमा कार्यक्रम सम्पन्न गर्ने लक्ष थियो । चौथो किस्तामा गरी युएनडिपीले ८७ लाख २० हजार २ सय ५० रुपैंया नगरपालिकालाई दिनु पर्ने हो । पहिलो किस्ता उपलब्ध गराउँदै काम सन्तोषजनक नपाइएको अनुभूति भैसक्या थियो ।”प्राविधिक त्रुटी, कठिनाई जस्ता कुरालाई मध्यनजर गर्दै परियोजनाको काम सुधार गरी अघि बढ्छ भन्ने आशमा नगरपालिकाले मागे अनुसार थप किस्ता उपलब्ध गराएको बताउने चन्दले सोचे अनुसारको काम भने भएको नपाइएको बताए ।

उनले नगरपालिले पटक–पटक रकम अभाव भएको भन्दै काम गर्न समस्या परेको जनाएपछि युएनडिपीले तेस्रो किस्ता सम्म उपलब्ध गराएको बताए । जसबापत ७४ लाख रकम निकाशा दिइएको उनले जानकारी दिए । उनले निकाशा दिए बमोजिमको काम भने आफुहरुले अनुगमनका क्रममा नभेटेको बताए ।चन्दले युएनडिपी सँगको सम्झौता बमोजिम नगरपालिकाले अन्तिम तथा चौथो किस्ता वापतको १३ लाख बाहेक सबै रकम लगिसकेको बताए । बाँकी तथा अन्तिम किस्ताको हकमा नगरपालिकाले मागेन । मागेको भएपनि हामी नदिने अवस्थामा पुगिसकेका थियौं उनले भने ।उनले फोन सम्पर्ककै क्रममा भने नगरपालिकालाई दिदै आइएको सहायत  रोकिएको हो । जसको कारण यूएन पार्क नै हो । उनले भने, “कमसल सामाग्रीको प्रयोग, सर्त अनुसारको काम नहुनु र रकमको दुरुपयोग भएको ठानी तत्काललाई सबैखाले सहायता रोकिएको छ । त्यो कहिले सम्म हो भन्ने बारे यसै भन्न सकिन्न । पार्कको विषय नटुङिगए सम्म सायद । तर नगरपालिकालाई नै कालो सूचीमा राखिएको भन्ने विषय चैं होइन । उनले आफुले सो आशयले कुरो नगरेको बताए । त्यसको अधिकार आफुहरुसँग नरहेको उनले स्पष्ट पारे ।

पार्क निर्माणको सम्बन्धमा २०७६ भदौ १८ गते इनरुवा नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो । पार्क निर्माणको साझेदार संस्थाका रुपमा सिडियो सुनसरी रहेको थियो । जसको कार्यक्रम संयोजकको जिम्मेबारीमा धिरज भट्टराई रहेका थिए ।तत्कालिन समयमा पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार साढे चार कट्ठा क्षेत्रफलमा निर्माण हुने भनिएको पार्कको लागत १ करोड ६१ लाख ७५ हजार २ सय ५० रुपैंया रहने बताइएको थियो । युएनडिपीले ८७ लाख २० हजार २ सय ५० र सहकार्य वापत नगरपालिकाले ७४ लाख ५५ हजार खर्चिने सो क्रममा भट्टराईले जानकारी दिएका थिए । कालो सूची सम्वन्धमा समाचार प्रकाशन पश्चात कार्यक्रम संयोजक धिरज भट्टराईले आपत्ति जनाएका छन । उनले सो विषय सामाजिक सञ्जाल मार्फत खण्डन गरेका छन । उनले बाहिरिएको विषय यथार्थ भन्दा भिन्न रहेको बताएका छन । यता खुलासा सहितको समाचार प्रकाशन गरेको संचार माध्यमले फिल्ड अफिसरले अघिल्लो दिन सामुन्नेमा बोलेको कुरा समाचार बाहिरिएपछि फेरेको बताएको छ ।

तपाईको प्रतिक्रिया