- अमर काफ्ले

इनरुवा नगर पालिकामा मूख्यत: एमाले र काँग्रेसकै उम्मेदवार मध्ये एकको जित आम नगरवासीको आंकलनको विषय हो । स्वयं प्रमुख प्रतिष्पर्धी दल मानिएको एमाले र काँग्रेसकै उम्मेदवार समेतले सो कुरालाई स्विकार गरेका छन ।४२ हजार ७ सय ४८ मतदाता रहेको इनरुवा नगरमा बैशाख ३० को मिति नजिकिंदै जाँदा दलगत चुनावी प्रचार र आफु अनुकुल मतदाता रिझाउने प्रयास भैरहेका छन ।मतदाता समक्ष एकले अर्को उम्मेदवार भन्दा आफु अब्बल, जनप्रेमी र बिकासप्रेमी जस्ता नारा अघि सार्दै प्रचारप्रसारको कार्यलाई अघि बढाउँदै आएका छन ।सबैजसो उम्मेदवारले जनाधार आ–आफ्नो पक्षमा रहेको विश्वास जताई रहेका छन ।

यद्पि, मतदानमा मतदाताले स्वविवेकको प्रयोग गर्ने भएकाले परिणाम कसको पक्षमा आउने हो त्यसबारे भने अहिलेनै यसै हो भनी ठोकुवा गर्ने स्पष्ट आधार भने देखिदैन ।मतदाता मात्रै नभई आम नगरवासीले नगर प्रमुखमा एमाले र काँग्रेस मध्येकै एकले बाजी मार्ने अनुमान लगाएको भएपनि हार र जितमा जसपा फ्याक्टर निर्णायक हुन सक्ने अनुमान गरेको पाइएको छ ।विगतमा नेकपा एमाले र काँग्रेस प्रमुख प्रतिष्पर्धीका रुपमा देखिदै आएकोमा इनरुवामा यस पटक भने जनता समाजवादी पार्टीले आफुलाई तेस्रो शक्तिका रुपमा उभ्याएको छ ।

चाहे अस्पताल सुधारको विषय होस या त नगर भित्रको वेथिति र भ्रष्टाचारको । यावत मुद्दा जोडेर टोल वस्तीमा संगठन विस्तारलाई तिव्रता दिएको जसपाले विगतको तुलनामा संगठनलाई निकै हदसम्म मजबुत पारेको छ ।जसलाई स्वयं एमाले र काँग्रेसका उम्मेदवारले समेत महसुस गरेका छन । बाहिरी तवरमा जसपा र उसको उम्मेदवारलाई एमाले, काँग्रेसले सामान्य आंकेपनि भित्री पाटो भने सोचे भन्दा फरकको अनुभूतिलाई नकार्न सक्ने अवस्था भने देखिदैन ।आठ चिन्ह सात छापको नारा पछिल्ला वर्षहरुमा प्रभावकारी हुन नसकेको परिप्रेक्ष्यमा पार्टी भित्रको आन्तरिक कलह, टिकट वितरण प्रतिको वितृष्णा र स्वतन्त्र उम्मेदवारी जस्ता विषयले मतदाताको रोजाईमा को उम्मेदवार पर्ने हो यकिन साथ भन्ने अवस्था नगरमा देखिदैन ।एमाले र काँग्रेसका उम्मेदवार एक अर्कोको विपक्षमा खरो उत्रिदै गर्दा पोल खोलाखोल भैरहेको छ । चुनावी प्रचारमा उम्मेदवारले तिकडमबाजी शैली अपनाउदै गर्दा मतदाताले भने त्यसलाई नजिकबाट नियाली रहेको प्रतिकृया जनाई रहेका छन ।इनरुवाकोलागि बजार क्षेत्रको मत संधै निर्णायक मानिदै आएको छ । त्यसका साथै मधेशी समुदाय र खासगरी मुस्लिम समुदायको मत समेत इनरुवाकोलागि निर्णायक रहेको भन्ने विषयमा दुईमत छैन । अझै इनरुवामा जातीय फ्याक्टर समेत हावी हुँदै आएको विगतको परिपाटीले यस पटक समेत निरन्तरता पाउनेमा कुनै शंका देखिन्न । यावत कारणले बैशाख ३० को प्रतिष्पर्धा रोचक हुने अधिंकाश नगरवासीको अपेक्षा बुझिएको छ ।काँग्रेसका उम्मेदवार केदार भण्डारीकालागि स्थानीयवासीका रुपमा नगरमा लामो समयको घुलमेल र चिनजानसँगै पार्टी सभापतिको पद र उनको वकालत पेशाले मतदाताको साथ पाउने सम्भावना रहँदा पार्टी भित्रको टिकट वितरणको किचलोले भने उनलाई अप्ठ्यारोमा पार्न सक्ने तर्फ स्वयं काँग्रेसीनै संशकित छन ।

अन्तिम समय सम्म टिकटका आकांक्षी राजन मेहताले अन्तत: सदस्यमा उम्मेदवारी दिएको विषयले पार्टी समिकरण मिलाउन खोजेको देखिएपनि त्यसले समग्रमा परिणाम भण्डारीको पक्षमा ल्याउला वा नल्याउला यकिन साथ कोहीकसैले यसै भन्न सक्ने अवस्था नरहेको काँग्रेसी भित्रै गाइगुईको विषय बन्दै आएको छ ।त्यतिमात्र नभएर आफ्नै पार्टीको मेयर नगर प्रमुख रहँदा इनरुवाको विकासमा लछारपाटो नलागेको र भद्रगोल बनेको प्रतिकृया दिदै आएका नगर प्रमुखका उम्मेदवार भण्डारीलाई आम मतदाताले कसरी लेलान त्यो समेत सर्वत्र चासोको विषयका रुपमा लिइएको छ । वडामा देखिएको काँग्रेसी नेता तथा कार्यकर्ताको असन्तुष्टिलाई मतदान पूर्व मिलान गरी सक्ने जिल्ला तहका नेताको भनाई र गरिने भनिएको प्रयासलाई आम नेता कार्यकर्ताले कसरी लिनेहुन त्यो विषय समेत चासोका रुपमा रहेको छ ।

यता एमालेका उम्मेदवार सरोज पोखरेल इनरुवाकै भएपनि केदारको तुलनामा उनलाई बाहिरिया मान्नेको जमात नगरमा ठूलै छ । पोखरेलले आफु इनरुवाबासी बताउँदै नगरको विकास र समृद्धिकालागि एमाले बाहेको विकल्प नरहेको भन्दै मत माग्दै गर्दा टिकटका आकांक्षीहरुको असन्तुष्टिले उनलाई समेत पिरोल्ने सम्भावना भने नकार्न सकिन्न ।एमाले भित्र विगतमा हुँदै आएको झैं अन्र्तघात यस पटक समेत असन्तुष्टि सँगै दोहोरिएमा सरोजकालागि फलामको चिउरा चपाउनु सरह हुने अनुमान अधिकांशको छ । एमालेकालागि गठबन्धन भित्रको दल एकीकृत समाजवादीको भूमिकाले समेत केहि हदसम्म असर गर्ने देखिन्छ ।उप प्रमुखमा मुस्लिम उम्मेदवार उठाएकाले एमालेले राहत महसुस भने गरेको छ । यद्यपि,उसकालागि भण्डारी सँगको प्रमुख प्रतिष्पर्धा र जसपा फ्याक्टरले सोचे अनुसारको परिणाम ल्याउन पक्कै सहज भने देखिदैन ।

दिलिपचन साहुले हात पार्ने मत जति बढी भयो परिणामकोलागि मतान्तर उत्तिनै घट्ने निश्चित प्राय छ । ३ हजार बढी सकृय सदस्य दाबी गर्ने जसपाले आवद्ध सदस्यका परिवार र शुभचिन्तकको मतलाई आफ्नो मजुबत जनाधार ठानेको छ ।९ हजार बढी मत हात पार्ने दाबी गर्दै आएको जसपाले ६ हजारको हाराहारी माथि मत ल्याउन सफल रहे एमाले र काँग्रेस दुई मध्ये एकलाई फाइदा पुग्ने अधिकांशको बुझाई छ । दलीय पण्डितहरुको बुझाईमा साहुले काट्ने मतको ६० प्रतिशत काँग्रेस र ४० प्रतिशत एमालेको रहने देखिन्छ । एमाले र काँग्रेसले जसपालाई आफ्नो पक्षमा पार्ने प्रयास चालेको विषय समेत बजारमा गाईगुई सुनिन थालेको छ । जसलाई जसपाले भने ठाडै अस्विकार गरेको छ ।

४२ हजार ७ सय ४८ मतदाता मध्ये विगतको ट्रेन्ड समेतलाई हेर्दा बढीमा ३० देखि ३२ हजारको हाराहारीमा मत खस्न सक्ने अनुमान गरिएको छ ।अन्य उम्मेदवार समेत रहेको र धेरथोर कट्ने मत भन्दापनि जसपाले जति बढी मत हात पार्यो उत्तिकै एमाले र काँग्रेस दुवै उम्मेदवारले आफु अनुकुल सहज मान्दै आएको जित कठिन मोडमा पुगेर इनरुवामा विपक्षीले बाजी मार्ने अवस्था नआउला भन्न सकिन्न । जित भने तिव्र प्रतिष्पर्धाका बिच त्यति ठूलो अन्तरको नहुने अधिकांशको आंकलन छ ।

तपाईको प्रतिक्रिया