सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सुनसरी प्रशासनले इनरुवाको ३ वटा वडा सहितका स्थनमा आज बेलुकीबाटै हिंडडुलमा रोक लगाएको छ ।


प्रशासनले इनरुवाको वडा नम्बर ३, ९ र १० का साथै दुहवी नगरपालिकाको १, ८ र ९ नम्बर र इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३ मा आज बेलुकी ८ बजेबाट भोलि विहान ५ बजे सम्म अत्यावश्यक अवस्थामा बाहेक हिंड्डुलमा प्रतिबन्ध लगाएको हो ।
यसैगरी सुनसरी प्रशासनले भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा भने पूर्ण प्रतिबन्ध लागु हुने जनाएको छ । ति पालिकाहरुमा समेत आज बेलुकी ८ बजेबाटै हिंडडुल गर्न पाइने छैन ।
निषेधित क्षेत्र तोकिएका स्थानमा अत्यावश्यक काम बाहेकको अवस्थामा सुरक्षा निकाय सँग समन्वय गरी बाहेकको हकमा कोही कसैले घर बाहिर निस्कन नपाउने प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मौन अवधिको पहिलो दिन आचार संहिताको उल्लंखनका घटना भएको र सुरक्षा संवेदनशीलता समेत महसुस गरिएकाले निषेधित क्षेत्र कडाई गर्न लागिएको हो । उनले आदेश उल्लंघन गरेको पाइए पक्राउ गरी कानुनी कार्वाहीको प्रकृया अघि बढाइने समेत बताए ।

 

तपाईको प्रतिक्रिया