- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं/ सुनसरीको हरिनगर गाउँपालिकामा जनतासँग अध्यक्ष कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रमको मूख्य लक्ष्य पालिका भित्रको बिकास निर्माणको अवस्था बारे जनता सामू प्रत्यक्ष जानकारी गराउदै प्रतिकृया बटुल्नु रहेको बताइएको छ । गाउँपालिका भित्र रहेका साविकका सबै गाविस र त्यस मातहत पर्ने वडा सम्मको घरदैलो कार्यक्रमलाई उक्त अभियानमा समेटिने गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । गाउँपालिका प्रमुख अन्सारीका अनुसार साविकका ५ गाविस भित्र पर्ने तत्कालिन अवस्थामा रहेका ४५ वटा वडामै पुग्ने गरी अभियान थालनी गरिएको छ ।

जस अन्र्तगत सबै टोल, वस्ती, समूदाय र वडामा घरदैलो गरिने छ ।चुनावका बेला मात्रै नेता घरदैलोमा आउछन भन्ने आम बुझाईलाई चिर्न समेत आफ्नो अभियान महत्वपूर्ण सावित हुने अन्सारीको भनाई छ । उनले अभियान अन्र्तगत अहिले सम्म ६ वडाको कार्यक्रम सकाएको बताए । अन्सारीले जनताको अपेक्षा, चाहना र गुनासाहरु सम्बोधन गर्दै अघि बढिरहेको जानकारी दिए । अन्सारीले भने, ‘भैरहेका बिकास निर्माणका साथै गाउँपालिकाको समग्र बजेट र त्यसको कार्यान्वयन जस्ता विषयमा जनता जानकार हुनु जरुरी छ । तर, टाठाबाठा बाहेक अधिकांश सो विषयमा बेखबर पाएकाले आफैं जनताको घरदैलोमा गएर जानकारी गराउन अभियानमा जुटेको छु ।’ वडागत हुँदै समग्र पालिका भित्र संचालित गतिविधि र खर्चको विवरण बारे जनतामाझ जानकारी गराउने उद्देश्यसाथ थालनी गरिएको अभियानमा गाउँवासी समेतको सहभागिता उल्लेख्य रहँदै आएको अध्यक्षले बताए ।

अन्सारीले घरदैलोमा स्थानीयलाई भेट्नुका साथै स्थानीय चोकहरुमा दुरी कायम गरी सामूहिक छलफलको आयोजना गर्दै आएको बताए । सो क्रममा आफैंलै जनता सामू चियो र चासो किन नगरेको भन्दै प्रश्न गर्ने गरेको सुनाए ।गाउँपालिकामा भैरहेको बिकास निर्माण, गुणस्तरीयताको विषय, समस्या, अपेक्षा र गुनासाहरु भए सोझै आफुलाई जानकारी गराउन गाउँवासी समक्ष आग्रह गर्दै आएको अन्सारीले बताए ।गाउँपालिकाले गौरभका योजनाहरु समेत संचालनमा ल्याएको बताएका अध्यक्षले त्यसको निगरानी गर्दै कमसल काम भएको भए खबरदारी गर्न समेत गाउँवासी समक्ष आग्रह गरेका छन् । उनले भने, ‘जति मात्रामा जनता जागरुक हुनु पर्ने हो त्यति भएको पाइएन् । त्यसैले स्वयं अभियान लिएर घरदैलो मार्फत जनता सामू पुग्ने क्रमको सुरुवात गरेको हुँ । जसलाई निरन्तरता दिईरहने छु ।’अध्यक्षको अभियानलाई सकारात्मक कदम भएको भन्दै स्थानीयहरुले समेत साथ दिएको बताए छन् । युवा अगुवा नइम अन्सारीले जनतासँग अध्यक्ष कार्यक्रमले सबैलाई एक सूत्रमा बाध्ने काम गरेको बताए । उनले अध्यक्षको अभियानले जनप्रतिनिधि र जनता बिचको सम्वन्ध थप मजबुत बनाउँदै लगेको बताए । गाउँपालिका अध्यक्षले थालेको अभियानलाई वडाअध्यक्षहरुले समेत रुचाएका छन् । हरेक वडा सम्म पुगेर गाउँपालिका अध्यक्षले प्रत्यक्ष जनतासँग साक्षात्कार गर्ने भएकाले वडागत योजनाको अवस्था र समस्या सिधै गाउँपालिका सम्म पुग्नेमा उनीहरु ढुक्क देखिएका छन् ।
वडा अध्यक्ष अब्दुल लतिफ मियाका अनुसार जनताको घरदैलोमा अध्यक्ष पुग्दा वडाका सबै समस्या र वडावासीको अपेक्षा सुनुवाईको सम्भावना छिटो रहन्छ । जसले जनप्रतिनिधि र गाउँपालिका सँगको जनताको सम्वन्ध प्रगाढ र सुमधुर बनाउन मद्दत पुग्ने छ ।अभियानलाई गाउँपालिकाको कार्यालयका कर्मचारीहरुले समेत सकारात्मक कदम भनेका छन् । प्रत्यक्ष सुझाव र योजनाबारे जानकारी हुने भएकाले सो अनुरुपका कार्यक्रमहरु संचालनमा ल्याउन जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी ठहरिने प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काको बुझाई छ ।खड्काले गाउँपालिकामा धेरै काम भएको भन्दै अन्य पालिकाको दाँजोमा बिकास निर्माणको सवालमा हरिनगर अब्बल स्थानमा रहेको दाबी गरे । सोही अनुरुप निरन्तरताको लागि सिङगो गाउँपालिका अघि बढिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया