- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं/ इनरुवा अस्पताल सुधारका नाममा गठित संघर्ष समितिले दबाबका कार्यक्रम संचालन गरिरहँदा अस्पताल प्रशासनले मुख खोलेको छ ।
उसले दरबन्दी अनुसारको पदपूर्ति नै हुन नसकेको अस्पतालबाट पूर्ण सेवाको अपेक्षा गर्नु न्यायोचित नहुने भनेको छ । अस्पताल प्रशासनका तर्फबाट धारणा राख्दै निमित्त मे.सु. समेत रहेका अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य सचिव डा.सन्तोष राईले कराएर र बिरोध गरेर मात्रै सबै समस्याको समाधान नहुने बताए । उनले समस्याको पहिचान गरी त्यसको समाधानमा सबै पक्ष जुट्न आवश्यक रहेको औल्याए । अस्पतालमा सुधारमा प्रयास क्रमिक रुपमा भैरहेको बताएका डा.राईले सीमित स्रोत, साधन र जनशक्तिले जादुको छडी झैं काम गर्न नसक्ने बताए ।

उनले भने, ‘लामो समय देखि विशेषज्ञ चिकित्सक सहितको अन्य दरबन्दी पूर्ति हुन सकेको छैन् । त्यसतर्फ स्थानीय समाज, नागरिक अगुवाका साथै राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिले ध्यान दिन जरुरी छ’ । उनले थपे, ‘कामै भएन र बेथिति मौलायो भनिरहँदा भएका राम्रा काम र सकारात्मक प्रयास ओझेल परेका छन् । अस्पताल भित्रको मूख्य समस्या चिर्न सबै पक्ष लागेमात्र त्यो सम्भव हुने छ’ । व्यवस्थापन समितिले अस्पताल भित्र भए गरेका कामहरु सार्वजनिक गर्ने उद्येश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा दरबन्दी पदपूर्तिको विषय प्राथमिकताका साथ उठान गरिएको थियो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको इनरुवा अस्पतालमा हाल सम्म कसैको पदपूर्ति भएको छैन् । प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट पद समेत रिक्त छ । मेडिकल अधिकृत ४ जनाको दरबन्दी रहेको इनरुवा अस्पतालमा अहिले एक जना मात्रले सेवा दिई रहेका छन् । सदस्य सचिव राईका अनुसार कुल ५९ जनाको दरबन्दी भएपनि हाल २६ जना कर्मचारी मात्र उपलब्ध छन् । ३३ जना जनशक्ति अभावका बिच ५० शैयामा स्तरउन्नती भएको इनरुवा अस्पतालले जनअपेक्षा र चाहना अनुसारको सेवा दिन सकेको छैन् । उता जनशक्ति व्यवस्थापनको सवालमा भने सम्वन्धित मन्त्रालयमा ताकेता र पत्राचार भैरहेको अस्पताल व्यवस्थापन समिति बताउँछ । अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जिसस सुनसरीका सभापति गोपाल राजभण्डारीले दरबन्दी अनुसारको पदपूर्ति व्यवस्थापनको सवालमा आफु लागिपरेको बताए । उनले विशेषज्ञ चिकित्सकको पदपूर्तिका सन्दर्भमा १ नम्बर प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग सहित ताकेता गरिरहेको बताए ।

राजभण्डारीले मन्त्रालयले उपलब्ध गराउने आश्वासन दिएपनि अहिलेसम्म भने उपलब्ध हुन नसकेको बताए । उपलब्ध स्रोत र साधन समेत जनशक्ति अभावमा संचालनमा ल्याउन नसकिएको उनले बताए । कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका सदस्य रामप्रसाद मेहताले अस्पताल भित्रका समस्याका बारेमा सबै जानकार रहेको भन्दै समाधानलागि एक भएर अघि बढ्नु बाहेकको विकल्प नरहेको बताए । उनले जनशक्ति पदपूर्ति गराउने सवालमा निर्णायक तहमा सबै मिलेर दबाब दिन आवश्यक रहेको बताए । उक्त कार्यक्रममा पत्रकार माझ समितिले गरेका कामकाज सहितको प्रगति विवरण सार्वजनिक गरिएको थियो । जारी विज्ञप्तीमा व्यवस्थापन समिति आउनु अघिका समस्यालाई क्रमिक सुधार गर्दै अघि बढाइएको उल्लेख छ । विज्ञप्तीमा जनाइए अनुसार आकस्मिक शाखाको नयाँ भवन निर्माण तथा संचालनमा ल्याइएको छ । त्यसैगरी फोहोरमैला व्यवस्थापनको भवन निर्माण गरिएको छ भने कार्यालय शाखामा आवश्यक पूर्वाधार व्यवस्थापन मिलाइएको छ । त्यसका अलावा अस्पताल हातामा वाटर प्लान्ट जडान गरिएको, औषधीको उचित बन्दोवस्ती मिलाइनुका साथै शल्यक्रिया मार्फतको प्रसुति सेवा विस्तार गरिएको र स्वास्थ्य बिमा कार्यक्रमको निरन्तरता सँगै प्रयोगशाला मार्फत प्रवाह हुने सेवा विस्तार गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसैगरी पत्रकार सम्मेलनमा अस्पताल संचालन तथा व्यवस्थापन समितिले प्राथमिकतामा रहेका योजनाहरु समेत सार्वजनिक गरेको छ । जस अनुरुप CSSD and house keekiping र भेन्टिलेटरको सूचना आव्हान गरिएको भनिएको छ । NICU सेटअप कक्ष, माइक्रोबाईलोजी ल्याब कक्ष र जिन एक्स्पर्ट निर्माणको लागि टेण्डर प्रकृया अघि बढाइएको जनाइएको छ ।

त्यसैगरी फोहोरमैला व्यवस्थापनका सवालमा आवश्यक पूर्वाधार निर्माण तथा औजार व्यवस्थापनको सवालमा काम भैरहेको र खुल्ला प्रतिष्पर्धाबाट पदपूर्ति हुनेगरी २४ पदको नियुक्ति प्रकृया अघि बढाइएको समितिले जनाइएको छ । त्यसका अलावा Gene Expert, Microbiology (Urine c/s, Blood c/s), Hormones(TFT), Vitamin सम्वन्धि सेवा विस्तार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसैगरी ABG मेसिन पोर्टेबल एक्सरे र अनलाईन यूपिएसको टेण्डर अघि बढाउन लागिएको र डेण्टल सेवा विस्तारकालागि आवश्यक औजार र उपकरणको टेण्डर प्रकृया अघि बढाउन लागिएको बताइएको छ । त्यसैगरी व्यवस्थापन समितिले दिएको जानकारी अनुसार शव गृह भवन निर्माण प्रकृया अघि बढेको छ । न्यूनतम सेवा मापदण्ड अनुसार एक्स रे सेवाको पार्टेशनको काम अघि बढ्न लागेको छ भने Electrolyte Analyzer मेसिन खरिद गरी ल्याब सेवा विस्तार समेत गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । व्यवस्थापन समितिका सदस्यहरुले समस्या र चुनौतीको सामना गर्दै अस्पताल सुधार र व्यवस्थापनको सवालमा अघि बढि रहेको दाबी गरेका छन् । पत्रकार सम्मेलन माझ अस्पताल संचालन तथा व्यवस्थापन समितिले इनरुवा अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन एक्लो प्रयास असम्भव हुने भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग गर्न आव्हान समेत गरेको छ । संघर्ष समिति तातेपछि पत्रकार सम्मेलन किन भन्ने संचारकर्मीहरुको प्रश्नमा व्यवस्थापन समितिले भन्यो, ‘तयारी निकै पहिलाबाटै गरिएको हो । कोभिड र अन्य आन्तरिक व्यवस्थापनका कारण ढिलाई भएको मात्रै हो । अब हामी सबै खर्च विवरण सहित कार्य प्रगति सँगै समस्या र चुनौतिका विषय निरन्तर अपडेट गराउने छौं’ । इनरुवा अस्पतालमा बेथिति बढेको भन्दै सुधार गर्ने उद्देश्य सहित इनरुवामा केहि दिन अघि स्थानीय युवा र नागरिक अगुवा सम्मिलित संघर्ष समिति गठन गरिएको थियो । सो समितिले यतिबेला क्रमिक रुपमा दबाब मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया