- अमर काफ्ले

सुनसरीको कोशी कटानमा २ अर्ब बढी लागतको परियोजना अन्र्तगत संरचना निर्माण कार्यको शिलान्यास गरिएको छ । रिफ्रेसमेन्ट सेन्टर नाम दिइएको परियोजनाको प्रदेश १ का मुख्यमंत्री शेरधन राईले शिलान्यास गर्नु भएको हो । उक्त परियोजना प्रदेश १ सरकारले आधुनिक र मुलुककै नमूना हुने दाबी गरेको छ ।

शिलान्यास कार्यक्रममा मूख्य मंत्री सहित आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्की, सामाजिक मंत्री जीवन घिमिरेका साथै उद्योग, पर्यटन, वन तथा वातावरण मंत्री जगदीश प्रसाद कुसियैतको सहभागिता रहेको थियो ।शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री राईले कोशीको बगरलाई सदुपयोग गरी संचालनमा ल्याउन लागिएको परियोजना मुलुककै लागि नमूना र गौरभको आयोजना हुने दाबी गर्नु भयो ।मुख्यमंत्रीले कटान क्षेत्रमा बन्ने पूर्वाधार युक्त आधुनिक संरचना प्रदेश १ को पर्यटन प्रर्वद्धनमा कोशेढुङगा सावित हुने बताउनु भयो ।कार्यक्रममा दिइएको जानकारी अनुसार परियोजना अन्र्तगत कटान क्षेत्रमा आधुनिक बसपार्क सहित होटल, स्विमिङ पुल, फ्यूल सेन्टर, स्वास्थ्य चौकी, ट्राफिक र प्रहरीको बन्दोवस्ती लगायतका संरचनाहरु निर्माण हुने छन् ।

लामो दुरीबाट आउने सवारीका साधनलाई रोकी चालकलाई रिफ्रेस गराउदै सुरक्षित यात्रा तय गराउनु परियोजनाको मूख्य लक्ष रहेको बताइएको छ ।परियोजना अन्र्तगत पहिलो चरणमा २७ करोड ५ लाख १९ हजार ९ सय ४ रुपैंया बराबरको काम थालिने बताइएको छ । जस अन्र्तगतको संरचना निर्माणको ठेक्का कविन्द्र नव सिर्जनशील जेभी सिनामंगल काठमाण्डौंले पाएको छ । कुल ४२ करोड लागत मूल्य रहेको परियोजना ठेक्का पारेका निर्माण कम्पनीले न्यूनतम मूल्य(विलो)मा सम्झौता गरेको हो ।२०६५ साल भाद्र २ गतेको कोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई अधिकरण गरी रिफे्रसमेन्ट सेन्टर निर्माणको प्रकृया अघि बढाइएको हो । जसमा निर्माण हुन लागेको संरचनाको लागि कोशी गाउँपालिकाले समेत लगानी गर्दैछ । जस अन्र्तगत कुल हुन आउने लागतको २० प्रतिशत स्थानीय सरकारका रुपमा रहेको कोशी गाउँपालिकाले लगानी गर्ने छ ।सप्तकोशी नदी सँगै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपास रहेका पूर्वका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा उक्त परियोजना महत्वपूर्ण सावित हुने गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको भनाई छ ।

तपाईको प्रतिक्रिया