- अमर काफ्ले

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले कार्यालय परिषरमा रहेको वडा नम्बर २ को कार्यालय एक महिना भित्र हटाउन निर्देशन दिएका छन ।


वडा नम्बर २ को कार्यालयको नाममा काटिएको पत्रमा कोठा आवश्यक परेको भन्दै साउन १ गते भित्रमा आफ्नो व्यवस्था मिलाई भवन खाली गर्न भनिएको छ ।
पत्र संख्या २०७८।०७९ को च.न.३३२ को भवन खाली गराई दिन हुन भन्ने शिर्षकको पत्रमा जिसस सुनसरी प्रमुख राजन मेहताको हस्ताक्षर रहेको छ ।
प्रमुख मेहताले जिससको भवनमा कार्यालय संचालन गर्दै आएको २ नम्बर वडालाई पत्राचार गर्दै एक महिना भित्र भवन खाली गरिसक्न निर्देशन सहितको पत्राचार गरेका हुन ।
सो बारे जिससले इनरुवा नगरपालिकाको कार्यालयलाई समेत जानकारी गराएको छ । नगरपालिकालाई बोधार्थ दिइएको पत्रमा भनिएको छ , “विगत लामो समय देखि यस कार्यालय मातहतमा रहेको कार्यालय भवन प्रयोग गरी वडा कार्यालय संचालन भइरहेकोमा अब उप्रान्त उक्त भवन यस कार्यालयकालागि आवश्यक परेकाले मिति २०७९।०४।०१ गते सम्ममा आफ्नो व्यवस्था मिलाई कार्यालय भवन खाली गरिदिनु हुन अनुरोध छ ।”

सो व्यहोराको पत्र इनरुवा नगरपालिकाको कार्यालयमा दर्ता समेत गराई सकिएको छ । जिससको उक्त पत्र नगरपालिकाको अभिलेखमा आजैका मिति २०७९।२।३१ गते ७०१७ नम्बरमा दर्ता रहेको छ ।


मेहता अघिल्लो दिन सोमबार सम्पन्न निर्वाचनबाट जिसस सुनसरीको प्रमुखमा निर्वाचित भएका हुन । मेहता सहित निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सोही दिन सपथ तथा पदभार ग्रहण गरेका थिए ।
मेहता वडा नम्बर २ बाट सदस्य पदमा निर्वाचित भए पश्चात जिसस प्रमुखको उम्मेदवार बनेका थिए । उक्त वडामा अघिल्लो पटक नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको थियो । यस पटक भने कांग्रेसका उम्मेद्वार रञ्जेश भट्टराईलाई ११ मतले हराउँदै एमालेका विश्वनाथ ठाकुर बिजयी भएका छन ।
लामो समय देखि जिसस परिषरको खाली भवनलाई वडा नम्बर २ ले कार्यालयका रुपमा प्रयोगमा ल्याउँदै आएको थियो । कांग्रेसको पालामा वडालाई कार्यालय संचालन प्रयोजनकालागि भवन दिलाउन तथा अन्य आवश्यक बन्दोवस्ती मिलाउन स्वयं तत्कालिन नगर प्रमुख रहेका मेहताले साथ सहयोग गर्दै आएका थिए ।
जिसस प्रमुखका रुपमा मेहताको पछिल्लो निर्णयलाई लिएर स्थानीय स्तरमा भने विभिन्न टिकाटिप्पणी हुन थालेको छ । पर्याप्त कोठा तथा भवन खाली रहेको अवस्थाका बिच वडा कार्यालय खाली गर्न भनिनुलाई अधिकांशले राजनीतिक प्रतिसोध भनेका छन ।
उता जिसस प्रमुख राजन मेहताले भने अव्यवस्थित कार्यालय र परिषरलाई व्यवस्थित बनाउने प्रयोजनकालागि वडा कार्यालयले ओगटेको भवन खाली गर्न भनिएको बताए । यता वडा अध्यक्ष विश्वनाथ ठाकुरले भने कार्यालय संचालनकालागि भिन्नै स्थानमा कोठा खोजिने प्रतिकृया दिए । उनले जिससको पत्राचार बारेमा नगर प्रमुखलाई जानकारी गराइएको बताए । ठाकुरले नगर प्रमुख सँगको छलफल पश्चात आवश्यक निर्णयमा पुगिने बताए ।

 

 

तपाईको प्रतिक्रिया