- अमर काफ्ले

सुनसरीमा सम्भावित विपद् पूर्वको तयारीलाई मध्यनजर गर्दै संयुक्त प्रतिकार्य अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै रेडक्रसको टोलीले कोशी कटानमा विपद् व्यवस्थापन तथा पूर्व तयारी गतिविधि लक्षित संयुक्त अभ्यास गरेका हुन ।

प्रतिकार्य अभ्यास कार्यक्रममा सम्भावित बाढी तथा डुबान, आगलागी र सर्पदंशका घटना आइपर्दा अपनाइने सावधानी, उद्दार र जनचेतना जस्ता विषय केन्द्रित घटनाक्रमलाई प्रतिकार्य रुपमा प्रस्तुत गरिएको थियो ।

संयुक्त अभ्यास कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय सुनसरीसँगै कोशी र भोक्राहा नरसिंह गाउँपालिकाले मिलेर संयुक्त रुपमा संचालनमा ल्याएको हो ।कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिका अलावा सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकार्य अभ्यास कार्यक्रममा कृष्णदल गण इटहरी, दुर्गादल गुल्म कोशी टप्पु, जिल्ला प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरी र नेपाल रेडक्रस सोसाइटी सुनसरीको टोली सहभागि रहेको थियो ।हरेक वर्ष वर्षायाम सँगै सप्तकोशी नदीको वहावमा आउने उतारचढाव र विभिन्न भेगमा हुने डुबान सुनसरीकालागि समस्याका रुपमा देखिदै आएको छ ।

तपाईको प्रतिक्रिया