- अमर काफ्ले

कार्यालय भित्र दुव्र्यवहार गरिएको विषयलाई लिएर बर्जु गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन ।सुरक्षाको प्रत्याभूति नभएको भन्दै आन्दोलित कर्मचारीहरुले कामकाज समेत ठप्प पारेका छन । कार्यालय भित्र कर्मचारी माथि भएको दुव्र्यवहारको घटनामा संलग्न उपर कार्वाहीको माग गरेका उनीहरुले सुरक्षा लगायतको सवालमा गाउँपालिकाबाट साझा प्रतिवद्धता नआए सम्म काममा नफिर्किने बताएका छन ।


मंगलवार प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीको नेतृत्वमा सम्पन्न पालिकाभरका कर्मचारीको बैठकले सो निर्णय गरेको हो ।साझा प्रतिवद्धता सहित कर्मचारी हकहीत र सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यक बाहेकका सबै कामकाज अनिश्चितकालका लागि ठप्प पार्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए ।
विद्यालयका शिक्षक सहित मातहत कार्यालयमा कार्यरत कर्मचारीको उपस्थिति रहेको बैठकले घटनाको निष्पक्ष छानविनमा सहयोग गर्ने समेत निर्णय गरेको छ । बैठकले कार्यालय प्रवेश गरी कर्मचारी उपर गरिएको दुव्र्यवहारपूर्ण घटनाको भने निन्दा गरेको छ । प्राप्त जानकारी अनुसार गाउँपालिकामा भोलीबाट चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाइने छ ।
गाउँपालिका बाट प्रवाह हुँदै आएको अत्यावश्यक बाहेकको सेवा प्रवाह रोकिने छ । विद्यालयको हकमा समेत शिक्षक, कर्मचारीले कालोपट्टी बाँधी बिरोध जनाउने छन । मातहतका सबै कार्यालयका कर्मचारी समेतले अत्यावश्यक बाहेकका सेवा रोक्ने छन । सो बारे कर्मचारीहरुको बैठकले प्रेस विज्ञप्ती प्रकाशित गरी जानकारी समेत गराई सकेको छ ।विज्ञप्तीमा कर्मचारी माथिको दुव्र्यवहारको घटनामा संलग्नका साथै झुटा प्रचार गर्ने समेतलाई कानुनी दायरामा ल्याई कार्वाही गरिनु पर्ने भनिएको छ । विज्ञप्ती मार्फत कर्मचारीहरुले सुरक्षाको प्रत्याभूति नभए सम्म काममा नफर्किने समेत जनाएका छन ।

कार्र्यालयको तर्फबाट जारी विज्ञप्तीमा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीको हस्ताक्षर रहेको छ । विज्ञप्तीमा कर्मचारीमाथि भएको दुव्र्यवहारको भत्सर्ना गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘कार्यालय भित्र आक्रोसित भीड प्रवेश गरी कर्मचारीलाई नियन्त्रमा लिई अभद्र व्यवहार गरिनु खेदजनक छ । जसले गर्दा शान्तिपूर्ण तवरले काम गर्ने वातावरणमा खलल पुग्नुका साथै शान्ति सुरक्षामा चुनौति बढाएको छ ।’
प्रशासकीय अधिकृतद्वारा जारी विज्ञप्तीमा स्टोर कोठामा राखिएको कृषि मोटर कोठा व्यवस्थापनका क्रममा सुरक्षित स्थानमा स्थानान्तरण गरी राखिएको विषयलाई कर्मचारीले चोरी गरेको भनी आरोप लगाइनु दुःखद भएको उल्लेख छ । सो विज्ञप्तीमा आरोप नै पुष्टि नभई आक्रोशित भीड कर्मचारी उपर जाई लागेको र प्रहरी आई पक्राउ गरी लग्दा समेत जनप्रतिनिधिहरुले वास्ता नगरेको विषयलाई अभिभावक विहिनको अवस्था सृजना हुन पुगेकोका रुपमा व्याख्या गरिएको छ । जारी विज्ञप्तीमा आरोप लगाइएका कर्मचारी उपर आन्तरिक छानविन हुने र दोषी पाइए कानुन बमोजिम कार्वाहीको प्रकृया अघि बढाइने समेत उल्लेख छ । विज्ञप्तीमा गाउँवासी समक्ष झुटा प्रचारबाजीको पछि नलाग्न आग्रह समेत गरिएको छ ।
यसैबिच गाउँपालिका प्रमुख जिवछकुमार राय समेतले घटना सम्बन्धमा छानविन गरी १५ दिन भित्र सत्यतथ्य बाहिर ल्याउने बताएका छन । गाउँपालिकाको तर्फबाट विज्ञप्ती जारी गरेका अध्यक्ष रायले गाउँवासी समक्ष झुटा प्रचारबाजी र भ्रामक समाचारको विश्वास नगर्न आग्रह गरेका छन । उनले विज्ञप्तीमा व्यक्तिगत चरित्र हत्या र संस्थागत बदनामी नगराउन गाउँवासी समक्ष आग्रह गर्दै कर्मचारी उपर भएको घटना प्रति दुःख समेत व्यक्त गरेका छन ।

यता स्थानीयले भने मोटर अन्यत्र लगेर राख्नुलाई कर्मचारीको लगत नियत भएको बताएका छन । उनीहरु भन्छन, ‘सामान सार्ने नै भए पालिकाको कुनै कोठामै राख्न सकिन्थ्यो । पालिकामै राख्नु पर्रथ्यो । पर्याप्त स्थान छ तर एकाएक किन अन्यत्र लगेर राखियो । जसको छानविन गरिनु पर्छ ।’

यसैबिच गाउँपालिकाले स्थानीयले मोटर चोरीको आराप लगाएका तीन कर्मचारीलाई घटना सम्बन्धमा स्पष्टिकरण सोधेको छ । गाउँपालिकाले कर्मचारीहरु अरुण कुमार राय, सन्तोष बन्जारा र फिरोज अन्सारीलाई स्पष्टिकरण सोधेको हो ।
उनीहरुलाई २४ घण्टा भित्र मनासिव कारण सहित स्पष्टिकरण पेश गर्न भनिएको छ । पत्रमा चित्तबुझ्दो जवाफ नआए कार्वाहीको प्रकृया अघि बढाइने उल्लेख छ ।

तपाईको प्रतिक्रिया