- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं/ इनरुवा नगरपालिकाको कार्यालयमा स्मार्ट डस्टविन राखिएको छ । सेवाग्राही सहित कर्मचारीका साथै कार्यालयमा आउजाउ गर्ने जोकोहीले प्रयोग गर्न मिल्ने गरी स्मार्ट डस्टविन राखिएको छ ।

कार्यालय हातामा राखिएको स्मार्ट डस्टविन बहुउपयोगी रहेको नगरपालिकाका सूचना अधिकृत निरज पोखरेलले बताए । पोखरेलका अनुसार उक्त स्मार्ट डस्टविन विभिन्न प्रयोजनका लागि उपयोगी छ ।सोलार सिस्टमको उक्त डस्टविनको विशेषता एकै स्थानमा विविध सुविधाको उपलब्धता रहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगर प्रमुख राजन मेहताका अनुसार ज्वरो मापनका साथै स्वचालित सेनिटाइजरको व्यवस्था भएको स्मार्ट डस्टविनमा एकैसाथ दुई मोबाइल चार्ज समेत गर्न सकिने छ । त्यसका साथै स्मार्ट डस्टविनमा रहेको डिजिटल डिसप्ले मार्फत नगरका सूचना नगरवासीको हकमा अपडेट गराइने छ ।

नगरपालिकाको सूचना शाखाले दिएको जानकारी अनुसार डस्टविनमा छुट्टाछुट्टै तवरले कुहिने र नकुहिने फोहोर समेत भण्डारन गर्न मिल्ने स्थान रहेको छ । कार्यालय हाता भित्र सेवाग्राही लगायतको हकमा फोहोर एकत्रित गर्ने बानीको बिकास गराइदा नगरपालिका क्षेत्र सफा हुने उसको ठहर छ । संकलित फोहोर भण्डारण गरिएको डस्टविन भरिएमा त्यस बारेको जानकारी समेत मोबाइलमा उपलब्ध हुने भएकाले व्यवस्थापनमा समेत सहज हुने नगरपालिकाको भनाई छ । प्रयोगमा ल्याएको स्मार्ट डस्टविन स्वास्थ्य सुरक्षा सूचक बारेको जानकारीका साथै विविध प्रयोजनले समेत लाभकारी हुने नगरपालिकाको कार्यालयले विश्वास लिएको छ ।



तपाईको प्रतिक्रिया