- अमर काफ्ले

सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ५ मा भएको आगलागीमा डेढ करोड बढी क्षति भएको छ । प्रहरीले उक्त आगलागीमा १ करोड त्रिपन्न लाख बराबरको क्षति भएको जनाएको छ । आगलागीमा स्थानीय ६ परिवारको घरगोठ र चौपाया जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो साँझ ६ बजे लागेको आगो राती ९ बजे नियन्त्रणमा आएको थियो ।

रमेश मण्डलको टिनको छानो भएको घरमा साँझवत्ती बालिएको स्थानबाट आगो सल्केको बताइएको छ । सुनसरी प्रहरीका अनुसार आगलागीमा परी रमेश मण्डल सहित पृथ्वीचन्द्र मण्डल, मोहन मण्डल, पशुपती मण्डल, बिबेक मण्डल र तपन मण्डलको घर सहित गाईगोठ, अन्नपात र लत्ताकपडाका साथै घरमा भएका सर–सामान पूर्ण रुपमा जलेको छ ।

आगलागीमा साइकल, थ्रेसर जस्ता सामान जलेका छन् । खसीबाख्रा र परेवा समेत मरेका छन् । उक्त आगलागी स्थानीय सहित सुरक्षाकर्मीले ५ वटा दमकलको सहायतामा नियन्त्रणमा लिएका थिए । आगो निभाउन इटहरी, इनरुवा, बराहक्षेत्र, दुहवी र कोशी गाउँपालिकाको दमकल घटनास्थल पुगेका थिए । यसैबिच आगलागी पीडित परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिका अध्यक्ष गफार अन्सारीले पीडित परिवारलाई भेटी खाद्यान्न सहितका राहत सामग्री वितरण गर्नु भएको छ ।



तपाईको प्रतिक्रिया