- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं/ इनरुवामा विद्यार्थी सँग मेयर कार्यक्रमको आयोजना गरिएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टको संयोजनमा नगरपालिकाको कार्यालयले सो कार्यक्रम आयोजना गरेको हो ।

उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राकेश निरौलाले बताए ।कार्यक्रममा इनरुवा क्षेत्रमा रहेका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । आयोजकले अन्तरक्रिया कार्यक्रमलाई विद्यार्थीको गुनासो, जिज्ञासा र समाधानको पाटो पहिल्याउने उद्देश्य अनुरुप संचालनमा ल्याएको थियो ।

अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थीहरुको सवाल उपर नगर प्रमुख राजन मेहताले जवाफ दिएका थिए ।मेयर मेहतालाई प्रश्न गर्ने अधिकांश विद्यार्थीले युवाको क्षेत्रमा नगरमा भएका गतिविधि र आगामी योजना बारे सोधेका थिए । उनीहरुले युवा लक्षित थप प्रभावकारी कार्यक्रमको खाँचो औल्याए ।

खेलकुदको क्षेत्रमा एक पछि अर्को कार्यक्रममा लाखौं बजेट सक्ने नगरले त्यसबाट के पायो र कत्तिका खेलाडी उत्पादन भए जस्ता प्रश्न तेस्राएका थिए । मेयरले सोधिएका प्रश्नको जवाफ दिदै नगरको पहिचान सहित समग्र विकासमा टेवा पुग्ने खालका काम भएको भन्दै उदाहरण पेश गरेका थिए ।कार्यक्रममा विद्यार्थीहरुले मेयरलाई नगर भित्रै राम्रो कलेज अभावमा उच्च शिक्षाको लागि बाहिरिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य कैले हुन्छ भनेर समेत सोधेका छन् ।


जवाफमा मेयरले इनरुवामै साइन्स सहित अन्य विषय पढाई हुने स्रोत, साधन र पूर्वाधार सम्पन्न कलेज निर्माणको पहल भैरहेको बताए । उनले नगरबाट बाहिर गई अध्ययन गर्दै आएका विद्यार्थीहरुको हकमा सम्वन्धित कलेजबाट उपलब्ध हुन सक्ने सेवा,सुविधाको बारेमा पहल थालिएको बताए ।नगर प्रमुख मेहताले उच्च शिक्षा अध्ययनका दौरान नगरबाट बाहिरिने विद्यार्थी मध्ये उत्कृष्टताको आधारमा प्रत्येक कलेजले केही कोटा निःशुल्क उपलब्ध गराउनु पर्ने माग समेत अघि सारिएको बताए । सो सम्वन्धमा सबै कलेजका व्यवस्थापक सम्मिलित भेला छिट्टै डाकिने भनाई मेयरले विद्यार्थीहरु माझ राखे । मेयर मेहताले नगरको भविष्य युवाको हातमा रहेको भन्दै सल्लाह र सुझावको खाँचो औल्याए । उनले युवा सँग सहकार्यका साथ हातेमालो गरी अघि बढ्ने बताए ।


तपाईको प्रतिक्रिया