- अमर काफ्ले

इनरुवा नगरपालिकाको वडा नम्बर ८ मा नव निर्मित प्रहरी चौकी भवन उद्घाटन गरिएको छ । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वरबाबु कार्कीले प्रहरी चौकी भवनको उद्घाटन गर्नु भएको हो ।

२ करोड २५ लाख ३६ हजार ४ सय ७ रुपैंया लागतको भवन रोयल कन्ट्रक्सनले निर्माण गरेको हो । उक्त भवन यूएनओपीएसको सहयोगमा निर्माण गरिएको हो ।उक्त दुई तले भवनमा १२ वटा कोठा रहेका छन् । आधुनिक शैलीमा बनाइएको भवनका भित्री भित्ताहरुमा कलात्मक आर्ट कुँदिएको छ ।नव निर्मित भवनमा आवास गृह सहित थुनुवा राख्ने महिला र पुरुषका भिन्नाभिन्नै कक्ष निर्माण गरिएको छ । अपाङगमैत्री शौचालय सहितका आवश्यक कक्ष र पूर्वाधार निर्माण गरिएको उक्त भवनमा सोलार सिस्टम जडान गरिएको छ । खानेपानीको उचित प्रवन्धलाई ध्यान दिइएको प्रहरी चौकीमा जमिन मुनीको पानी र खेर गएको पानी भण्डारण गरी प्रयोगमा ल्याउन मिल्ने प्रणाली समेत जडान गरिएको छ ।

डुम्राहा प्रहरी चौकीको लागि स्थानीय समाजवेसी अनिरुद्र मण्डलले २०४७ सालमा ५ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । भवन उद्घाटन कार्यक्रममा जग्गादाता अनिरुद्र मण्डललाई सम्मान समेत गरिएको छ । मण्डलको मृत्यु भैसकेकाले पिताको नामको सम्मान–पत्र छोरा सत्यनारायण मण्डलले बुझेका थिए । उक्त कार्यक्रममा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।भवन उद्घाटन तथा सम्मान कार्यक्रम पश्चात बोल्दै एक नम्बर प्रदेश प्रहरी प्रमुख इश्वरबाबु कार्कीले प्रहरी संगठनका कर्मचारीहरुलाई निष्ठावान र कर्तव्यनिष्ठ भई जनसेवामा खटिन निर्देशन दिएका थिए ।

सो कार्यक्रममा इनरुवा नगरपालिकाको प्रमुख राजन मेहता सहित रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल, वडा अध्यक्षहरु रविन्द्र मण्डल, रुद्र बस्नेत र घनश्याम चौधरी लगायत स्थानीय समाजसेवी र अगुवाहरुको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया