- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं/इनरुवाका एम्बुलेन्स चालक ४७ वर्षिय नारायण मण्डलले जिल्लामा कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका छन् ।स्वास्थ्य कार्यालय सुनसरीका अनुसार अभियानको औपचारिक सुरुवातको क्रममा मण्डललाई कोरोना विरुद्धको पहिलो डोज लगाइएको हो ।

इनरुवा अस्पतालमा स्थापना गरिएको खोप केन्द्रबाट अभियानको औपचारिक सुरुवात गरिएको छ । सो क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल सहित स्वास्थ्य प्रमुख सागर प्रसाईका साथै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।कोभिड भ्याक्सिन समन्वय तथा अनुगमन समितिका संयोजक समेत रहेका प्रजिअ पोखरेलले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको थालनी गरेका थिए । एम्बुलेन्स चालकले पहिलो डोज लगाएसँगै इनरुवा अस्पतालका मेसु डाक्टर सन्तोष राई र इन्डोर इन्चार्ज रोनी ठाकुरले खोप लगाएका छन् । त्यस पश्चात क्रमशः अन्यले खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सरकारी मापदण्ड अनुरुप अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई खोप लगाइने छ । कार्यालयले खोप कार्यक्रम तीन दिन चल्ने जनाएको छ ।स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाका ४ स्थानमा खोप लगाइदै छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिजयपुर अस्पताल, इटहरी अस्पताल र इनरुवा अस्पतालमा पहिलो चरण अन्र्तगत प्राथमिकतामा परेका व्यक्तिहरुको हकमा खोप लगाइने छ ।
 
स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा कुल १२ हजार डोज खोप प्राप्त भएको छ । पहिलो डोज लगाएका व्यक्तिलाई पूनः २८ दिन पछि दोस्रो डोज दिइने छ । कार्यालयले पहिलो चरण अन्र्तगत जिल्लामा ५५ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष लिएको छ ।

यसैबिच प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बिना हिचकिचाहट खोप लगाउन आग्रह गर्नु भएको छ । वहाँले सरकारले निर्धारण गरेको नीति बमोजिम प्राथमिकतामा परेका व्यक्तिहरुलाई नजिकको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गर्नु भएको हो ।प्रजिअ पोखरेलले खोप लगाउने व्यक्तिको सबै विवरण स्वास्थ्यकर्मीले अपडेट राख्ने भएकाले समेत निर्धक्क साथ खोप लगाउन आग्रह गर्नु भयो ।


तपाईको प्रतिक्रिया