इनरुवा नगरपालिका भित्रका वडामा संचालित नगर स्तरीय योजनाको अनुगमन थालिएको छ । नगर प्रमुख राजन मेहता सहितको टोलीले पहिलो दिन मंगलबार ५ वटा वडामा संचालित योजना अनुगमन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला सहित वडा अध्यक्षहरु र कार्यपालिका सदस्य सहित प्राविधिक सम्मिलित टोलीले नगर भित्र संचालित योजनाहरुको अनुगमन गरेको हो ।नगरपालिकाको कार्यालयले माघ २८ गते ७ औं नगर सभा डाक्ने निर्णय गरेको छ । सोही अनुरुप सभा पूर्व नगर र वडाबाट भएका निर्माण योजनाको अवस्था बारेको जानकारीको लागि टोलीले स्थलगत अनुगमन गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।नगरपालिकाको कार्यालयले नगर र वडा मार्फत खर्च भएको बजेट र त्यसको कार्यान्वयनको पाटो केलाउन समेत अनुगमन आवश्यक रहेको बताएको छ ।नगर प्रमुख राजन मेहताका अनुसार नगर भित्र सम्पन्न भएका र संचालन र निर्माण चरणमा रहेका योजना बारेमा विस्तृत जानकारी बटुल्ने उद्देश्य साथ स्थलगत अनुगमन गरिएको हो । नगर प्रमुख मेहताले स्थलगत अनुगमनले वस्तु स्थितिको बारे पूर्ण जानकारी दिलाउने हुँदा त्यसको गुणस्तर र विश्वसनीयताको आधारमा आगामी कार्य योजना तय हुने बताए ।प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले वडास्तरमा भएका योजना र बिकास निर्माणको बारेमा जानकारीको लागि स्थलगत अनुगमन थालिएको बताए । उनले कार्यपालिकाको निर्णय बमोजिम नगर स्तरीय योजना अनुगमन गरिएको बताए । निरौलाले बाँकी रहेका वडाहरुमा अर्को दिन अनुगमन गरिने बताए ।अनुमगन टोली समक्ष केहि स्थानका स्थानीयले संचालित योजना भरपर्दो नभएको गुनासो पोखेका थिए । जसको छानविन गरिनु पर्ने उनीहरुको माग थियो ।अनुगमनमा उप प्रमुख जमुना गौतम पोखरेल भने सहभागि थिइनन् । नगरपालिका स्रोतका अनुसार बैठकमा उठेको अनुगमनको विषयमा विमति जनाएकी उप प्रमुख मंगलबारको अनुगमन कार्यमा समावेश भइनन् । अनुगमन टोलीले मंगलबार विभिन्न १५ वटा योजना अनुगमन गरेको नगरपालिकाको सूचना अधिकृत निरज पोखरेलले बताए ।


तपाईको प्रतिक्रिया