- अमर काफ्ले

सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ ।  सडकमा चल्ने लामो दुरीका सवारी र शैक्षिक क्षेत्र ठप्प झैं देखिए पनि साना र मालवाहक सवारीका साधन भने चलेका छन् ।

सुनसरी प्रहरीले राजमार्गमा जिल्ला बाहिर बाट आउने सवारीका साधन नगुडे पनि छोटो दुरीका साथै नीजि सवारीका साधन भने संचालनमा रहेको जनाएको छ ।सदरमुकाम इनरुवाका बजार पसल पूर्ववत रुपमा खुलेका छन् । पूर्व पश्चिम राजमार्गमा भने साना सवारीका साधन र केहि मालबाहक गाडी बाहेक गुडेका छैनन् । भित्री बाटाहरुमा भने यातायातका साधन मनग्यै गुडेका छन् । प्रहरीका अनुसार मोटरसाइकल सहित अन्य नीजि सवारीका साधनको हकमा भने बन्दको प्रभाव देखिएको छैन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुनसरीमा दिउँसोको अवधि सम्म कहिकतै कुनैपनि अप्रिय घटना भएको छैन् ।धरानको भानुचोकमा विहानको समयमा बन्द गर्ने र खुलाउने पक्षबिच सामान्य झडपको अवस्था देखिनु बाहेक अन्यत्र अवस्था पूर्ण रुपमा शान्त रहेको प्रहरीको भनाई छ । जिप्रका सुनसरीका अनुसार धरानमा एउटा कारको सिसा बन्दकर्ताले फुटाएका छन् ।

त्यसैगरी पानी बोकेको गाडीमा तोडफोडको प्रयास भएको छ । सो क्रममा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाका सबै शहर बजारमा बन्दकर्ताको उपस्थिति न्यून रहेको जनाएको छ । सवारीका साधनमा प्रभाव देखिए पनि केहि स्थान बाहेक अन्यत्र सबै क्षेत्रका बजार पसल भने खुल्ला रहेको प्रहरीले जनाएको छ । उता नेकपाको प्रचण्ड–माधव समूह सुनसरीका अध्यक्ष योगेन्द्र मण्डलले जिल्लामा विहानैबाट बन्दको प्रभाव देखिएको बताए । उनले आफुहरुको आम हड्ताल सफल भएको बताए ।


तपाईको प्रतिक्रिया