- अमर काफ्ले

सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारन केन्द्रको भवन शिलान्यास गरिएको छ ।प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भोक्राहामा बन्न लागेको बीउ स्रोत केन्द्र (कृषि बिकास) को औपचारिक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले बीउ स्रोत केन्द्र भवनको शिलान्यास गर्नु भएको छ । उक्त भवन ६१ लाख ९ सय बयासी रुपैंया लागतमा निर्माण गर्न लागिएको हो ।स्थानीयको लागत सहभागितामा निर्माण गर्न लागिएको बीउ केन्द्रको स्थापना किसानको हकमा लाभकारी हुने बताइएको छ ।प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना सुनसरीका कार्यक्रम संयोजक दिपेन्द्र पोखरेलका अनुसार बीउ स्रोत केन्द्रले स्थानीय किसानको उत्पादन खरीद गरी उन्न्नत बीउ उत्पादन गर्र्ने छ ।

भण्डारन गरिएको किसानको उत्पादनलाई ग्रेडिङ पश्चात उन्नत जातको बीउ बिजनका रुपमा तयार पारी सहज बिक्रि वितरण गर्ने योजना अनुरुप संरचना निर्माण थालिएको पोखरेलले बताए । उत्पादनको हिसाबले उर्वर र किसानको बाक्लो बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भोक्राहामा पूर्वाधार निर्माण थालिएको परियोजना कार्यालय सुनसरीले जनाएको छ ।कार्यालयले दिएको जानकारी अनुसार उत्पादित बीउको सहज प्राप्तीमा समेत स्थानीयलाई प्राथमिकता दिइने छ ।शिलान्यास कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका साथै भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादव र कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराव लगायतको उपस्थिति रहेको थियो ।बन्न लागेको संरचनाको लागि गाउँपालिकाले थप सहयोग उपलब्ध गराउने जनाएको छ । बीउ स्रोत केन्द्रलाई भोक्राहाकै कुशवाहा तरकारी तथा बिज वृद्धि उत्पादन कृषक समूहले संचालनमा ल्याउने छ ।



तपाईको प्रतिक्रिया