इनरुवा/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले के भन्छ भनेर पर्खने भन्दा पनि पार्टी आफ्नो लाइनमा चल्नु पर्ने बताएका छन् । पौडेलले संसद विघटन असंवैधानिक कदम भएको जान्दाजान्दै कसले के भन्छ त्यसको पछि नलागी सिङगो पार्टी एकवद्ध भई अघि बढ्न आवश्यक रहेको धारणा राखेका हुन् ।

नेता पौडेलले इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेलामा पार्टी भित्र फरक धार देखा परेतापनि आत्तिनु पर्ने अवस्था भने नरहेको बताए । उनले संसद विघटन पश्चात उत्पन्न परिस्थितिलाई लिएर काँग्रेस भित्र देखिएको कित्ता काटको अवस्था सँगै फरक विचार र धार निर्णायक मोडमा एक हुनेमा आफु विश्वस्त रहेको समेत बताए । नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा नेता पौडेलले पार्टी भित्र सभापति देउवा र आफ्नो लाइन फरक देखिए पनि मुलुक निकाशको लागि निर्णायक मोडमा एकवद्ध हुनेमा विश्वस्त रहेको धारणा राखेका हुन् । पौडेलले काँग्रेस देश र जनताको लागि लडेको पार्टी भएको भन्दै मुलुक प्रति घात हुने कुरा कुनै पनि काँग्रेस नेताको लागि मान्य नहुने बताए । जसको अनुभूति जनताले अब छिट्टै गर्न पाउने पौडेलको भनाई थियो । कार्यक्रममा सहभागि अगुवा नेता तथा कार्यकर्ताले भने काँग्रेस भित्रको लाइन क्लियर नहुँदा जनतामा दुविधा उत्पन्न भएको शिर्ष नेताहरु समक्ष गुनासो पोखेका थिए । कार्यक्रममा काँग्रेस नेता ज्ञानेन्द्र कार्की, पार्टी जिल्ला सभापति राजिब कोइराला लगायतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया