- अमर काफ्ले

इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको हो । सखुवागाछीमा ट्राफिक प्रहरी कार्यालय इनरुवाका इन्चार्ज दिनेश कुमार चौधरी नेतृत्वको टोलीले सो अभियान थालेको हो ।

सो क्रममा ट्राफिक सहितका प्रहरीले यात्रु बस तथा मालबाहक ट्रक रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराउन थालेका छन् । ट्राफिक प्रहरीले चालक समक्ष ध्वनी प्रदुषण रोक्नको लागि अभियान कार्यान्वयनमा साथ दिन अनुरोध सहितको आग्रह गर्ने गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय इनरुवाका अनुसार १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको अगुवाईमा सो अभियान संचालनमा ल्याइएको हो ।उता प्रदेश ट्राफिक कार्यालय इटहरीले मातहतका सबै कार्यालयलाई आफु पायक क्षेत्रमा प्रेसर हर्न निषेध कार्यक्रमलाई अभियानका रुपमा अघि बढाउन भनिएको जनाएको छ । सोही अनुरुप मातहतका कार्यालयले राजमार्गमा सवारीका साधन रोकेर प्रेसर हर्न नबजाउन आग्रह सहित चालक लक्षित कार्यक्रम थालेको ट्राफिक प्रहरी इटहरीको कार्यालयले जनाएको छ । अभियान अन्र्तगत ट्राफिक प्रहरीले सवारी चालकलाई आदर सहित अनुरोध गर्ने कार्यालयले जनाएको छ ।

प्रदेश १ को १४ जिल्लामा अस्थायी ७३ र स्थायी १९ गरी ९२ वटा युनिट छन् । जसमा ४ सय १० जना ट्राफिक प्रहरी कार्यरत रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सवारीको चाप व्यवस्थापन गर्न भने ट्राफिकको उपलब्ध जनशक्ति पर्याप्त छैन् ।


तपाईको प्रतिक्रिया