- अमर काफ्ले

सुनसरीमा १ लाख ८ हजार ३ सय ५० जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्ष लिइएको छ । तत्काललाई ४२ हजार डोज खोप प्राप्त भएको जनाएको स्वास्थ्य कार्यालय सुनसरीले क्रमश : प्राप्त हुने डोजसँगै लक्षित संख्यामा भ्याक्सिन लगाइने जनाएको छ ।सरकारी अभियान अन्तर्गत फागुन २३ देखि २७ गते सम्म खोप कार्यक्रम संचालन हुँदैछ । सोही अनुरुप सुनसरीमा दोस्रो चरणको पहिलो फेजको तयारी पुरा भएको कार्यालयले जनाएको छ ।


स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाका सबै १२ वटै पालिकामा गरी ८२ वटा खोप केन्द्र तोकिएका छन् । स्वास्थ्य संस्था केन्द्रीत खोप कार्यक्रमको लागि २ सय ३९ जना खोप कार्यकर्ता परिचालन हुने बताइएको छ । त्यसैगरी ७ सय १७ जना स्वयंसेवक र ७७ जना स्वास्थ्यकर्मी अभियानमा खटिने कार्यालयले जनाएको छ ।

क–कसले लगाउन पाउने छन् खोप ?

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार अघिल्लो खोप कार्यक्रममा छुटेका व्यक्ति समेतले ५ दिन चल्ने खोप अभियानमा सहभागि हुन पाउने छन् । त्यसका अलावा ५५ वर्ष उमेर समूह माथिका व्यक्तिहरु, शिक्षक र विद्यालयका कर्मचारी, आधिकारिक दर्ता रहेका फार्मेसी र ल्याबका कर्मचारी सहित सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई खोप लगाइने छ ।

सरकारले खोपको उपलब्धता हेरी ६० वर्ष माथिका जेष्ठ नागरिकलाई खोप अभियान प्राथमिकतामा राखिएको बताए पनि स्वास्थ्य कार्यालय सुनसरीले भने ५५ वर्ष उमेर समूह देखिनै खोप लगाउने गरी तयारी पुरा गरिएको जनाएको छ ।

क–कसले खोप लगाउनु हुदैन् ?

स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङ्थेपका अनुसार गर्भवती महिला, हालसालै बिरामी भएका व्यक्ति, कडा एलर्जी हुनेहरु, हालसालै कोभिड भएका व्यक्ति, रगत बग्ने तथा रगत पातलो बनाउने जस्ता रगत सँग सम्वन्धि औषधि सेवन गर्दै आएकाले कोरोना विरुद्धको खोप लगाउन हुँदैन् । सो सम्वन्धमा चिकित्सकले उचित परामर्श समेत दिने छन् ।

सामान्य लक्षण सहित कोभिड लागेकाको हकमा निको भएको ४५ दिन पछि खोप लगाउन सकिने छ । कोभिडका कारण आईसीयूमा भर्ना हुनु परेकाको हकमा भने ३ महिना पछि मात्र खोप लगाउन मिल्ने छ । त्यसैगरी रेडमिसिभर लगाएकाले समेत ३ महिना पछि मात्र खोप लगाउन सक्ने छन् । प्लाज्मा थेरापी दिइएको कोभिड–१९ को विरामीलाई कम्तिमा ९० दिनपछि मात्रै खोप दिने व्यवस्था रहेको छ ।

खोप लगाउन नहुने अन्य अवस्था : ज्वरो आएको वा कोभिड १९को लक्षण भएमा वा अन्य सक्रिय संक्रमण भएको अवस्थामा गर्भवती र पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएमा दोस्रो मात्रा लगाउन हुदैन् ।

खोपको मात्रा र लगाउने उमेर : यो खोप बाँया पाखुराको माथिल्लो बाहिरी भागमा ०.५ मि.लि.मात्रामा लगाइन्छ । खोप ८ हप्ताको अवधिमा दुई पटक लगाउनु पर्ने हुन्छ । खोप १८ वर्ष माथिकालाई मात्र लगाइन्छ । अन्य खोप लगाउनु पर्ने भए कोरोनाको खोप लगाएको १४ दिन पछि मात्र लगाउन पाइन्छ ।

दीर्घरोगीलाई खोप अनिवार्य : दीर्घरोग जस्तै– मुटु सम्बन्धी रोग, मस्तिस्क, सम्बन्धी रोग, फोक्सो सम्बन्धी रोग, मृगौला रोग र क्यान्सर रोग भएका, रोग प्रतिरक्षा कमी भएका वा एच.आई.भी. भएका र रोग प्रतिरोधात्मक औषधि सेवन गरेकाले झनै प्राथमिकता साथ कोरोनाको खोप लगाउनु पर्ने हुन्छ । रोग प्रतिरक्षा शक्ति बढाउने हुँदा सो वर्गलाई खोप अनिवार्य भनिएको छ ।

सुत्केरी तथा बच्चालाई दुध चुसाउने आमा : (२०७७ माघ २८ भएको ध्ज्इ र २०७७ माघ ३० को राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिस अनुसार सुत्केरी तथा बच्चालाई दुध चुसाउने आमाहरूलाई पनि कोभिसिल्ड खोप दिन सकिने छ ) ।
सामान्य असर : सुई लगाएको ठाँउमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाई र आलस्य महशुस हुने, वाकवाक लाग्ने हुन सक्ने छ ।
त्यस प्रकारका असरहरू खोप लगाएको केही समय देखि १–२ दिन भित्र आफै हराएर जान्छ । ज्वरो आउने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने भएमा सिटामोलको प्रयोग गर्न सकिन्छ । एलर्जीका रुपमा गम्भिर असर भने विरलै मात्र देखिने छ ।

खोप कुनै ट्रायल हैन्, स्विकृत प्राप्त र विश्वसनीय छ : स्वास्थ्य कार्यालय सुनसरीले कोरोना भाइरस विरुद्धको खोप ढुक्कसाथ लगाउन जिल्लावासी समक्ष आग्रह गरेको छ ।कार्यालयले विश्व स्वास्थ्य संगठनबाट स्विकृत भई प्रयोगमा ल्याइएको हुनाले निर्धक्क साथ कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाउन सर्वसाधारण समक्ष आग्रह गरेको छ ।पहिलो र दोस्रो चरणमा संचालित कार्यक्रमको सुरुवाती चरणमा खोप लगाउनेको संख्यामा कमी देखिए पनि विश्वसनीयता बढ्दै जाँदा खोप लगाउनेको संख्यामा समेत वृद्धि भएको कार्यालयको ठहर छ ।कार्यालयले जिल्लावासी समक्ष खोपलाई ट्रायलको लागि प्रयोग गरिएको भन्ने भ्रम नराख्न भनेको छ । उसले परीक्षणका विविध चरण पार गरसँगै विश्व स्वास्थ्य संगठनले मान्यता दिए पछि मात्र खोप प्रयोगमा ल्याइएकाले निर्धक्क साथ खोप लगाउन सबैमा अनुरोध गरेको छ । उसले खोप लगाएका कोही कसैमा पनि जटिलता नदेखिएकाले समेत खोपको विश्वसनीयता स्पष्ट भएको जनाएको छ ।

कोरोनाको उच्च जोखिम वर्ग : कोभिड–१९ रोगबाट संक्रमित व्यक्तिहरूको संख्या, संक्रमण दर र जटिलता हेर्दा निम्न समूहका व्यक्तिहरूमा संक्रमणको अवधिमा र संक्रमणपछि उच्च जोखिम हुने देखिएको छ ।कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण, उपचार र ब्यवस्थापन अग्रपङ्गतीमा खटिने व्यक्तिहरू, वृद्ध,वृद्धाहरू, दीर्घरोग भएका व्यक्तिहरू, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू ।घरबाट बाहिर धेरै निस्कने व्यक्तिहरूमा कोभिड– १९ को संक्रमण हुने संभावना धेरै रहन्छ । जस्तै– धेरै मानिसको सम्पर्क हुने सार्वजनिक निकाय, कार्यालय, स्थानमा काम गर्ने, काम गर्दा भौतिक दुरी कायम नगर्ने र गर्न नसकिने अवस्था भएका वर्ग संक्रमणको जोखिममा पर्दछन् ।

तपाईको प्रतिक्रिया