- अमर काफ्ले

सुनसरीमा तीन दिनको अवधिमा २२ हजार भन्दा बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन दिनको अवधिमा जिल्लाभर २२ हजार ४ सय ५५ जनाले खोप लगाएका छन् । दोस्रो चरणको पहिलो फेज अन्तर्गत थालिएको अभियानको आज तेस्रो दिन सुनसरीमा ९ हजार २ सय ६० जनाले खोप लगाएका छन् ।

दोस्रो दिन सुनसरीमा खोप लगाउनेको संख्या ७ हजार ८ सय ४९ थियो भने अभियानको पहिलो दिन जिल्लामा ५ हजार ४ सय ४६ जनाले कोरोनाको खोप लगाएका थिए ।स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार दोस्रो चरणको अभियानमा खोप लगाउनेको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले पहिलो चरणको तुलनामा पछिल्लो चरणको अभियानमा सहभागि हुनेको संख्या अप्रत्याशित देखिएको बताए । प्रसाईले खोप लगाउन नजिकको स्वास्थ्य संस्थामा पुग्नेमा जेष्ठ नागरिकको संख्या उत्साहजनक रहेको जानकारी दिए ।

प्रसाईले दिनानुदिन खोप लगाउनेको संख्या बढ्दै जानुलाई सर्वसाधारणमा खोप प्रतिको विश्वसनीता बढेको रुपमा लिएको बताए । उनले खोपको माग समेत बढ्दो क्रममा रहेकाले उपलब्ध डोजको व्यवस्थापनमा चुनौति थपिएको बताए ।स्वास्थ्य कार्यालयले सुनसरीमा खोप लगाएका कोही कसैमा जटिलता नदेखिएको जनाएको छ । उसले खोप लगाएपछि कोही कसैमा भने सामान्य खालका असर देखा परे पनि स्वतः निको भएर जाने हँदा जनमानसमा खोप प्रतिको विश्वास बढेर गएको जनाएको छ । दोस्रो चरणको अभियानमा कार्यालयले १ लाख ८ हजार ३ सय ५० जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।

अघिल्लो चरणको अभियानको क्रममा खोप लगाउनेको निकै संख्या कम रहेको थियो । स्वास्थ्य कार्यालयले सोही आधारमा दोस्रो चरणको लागि ४२ हजार डोज मात्र भण्डारण गरेको थियो ।अपेक्षा गरिए भन्दा बढिको सहभागिता देखिन थालेसँगै स्वास्थ्य कार्यालयले खोप अभाव हुन सक्ने आंकलन गरेको छ । उसले माग समेत बढ्दो क्रममा रहेकाले थप खोपको जोहो थालेको जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा ८२ वटा केन्द्र तोकी खोप अभियान संचालनमा ल्याएको छ । जसमध्ये कतिपय स्वास्थ्य संस्थाले तीन दिन मात्रै अभियान चलाउने बताएका थिए । यद्यपि खोप लगाउनेको संख्या बढेसँगै कतिपय स्वास्थ्य संस्थाले समयावधि समेत थप गरेका छन् । स्वास्थ्य कार्यालयले कम उपस्थिति देखिएका केन्द्रका हकमा माग बढि रहेको स्वास्थ्य संस्थामा समायोजन गरी खोप लगाउन थालिएको जनाएको छ । पछिल्लो अभियान अन्तर्गत ६५ वर्ष माथिका सहित सरकारले तोकेको वर्ग र समूहलाई खोप लगाइदै छ ।यस अघि सुनसरीमा संचालित पहिलो चरणका दुई फेजमा ९ हजार ५ सय जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । सो अवधिमा अग्रभागमा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकका साथै प्राथमिकताका आधारमा जनप्रतिनिधि सहित स्थानीय तहका कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको हकमा खोप कार्यक्रम संचालनमा ल्याइएको थियो । जसमा संचारकर्मीका साथै जनप्रतिनिधि लगायतको उपस्थिति अन्यन्तै न्यून थियो ।

तपाईको प्रतिक्रिया