- अमर काफ्ले

सिचाई अभावमा बाली सुकेको किसानको गुनासो पछि सुनसरी प्रशासन चतरा नहरमा पानी छाड्ने निर्णयमा पुगेको छ ।मर्मत कार्यको लागि नहर बन्द गरिदा किसान समस्यामा परेको निष्कर्श सहित सुनसरी प्रशासन नहरमा पानी छाड्ने निर्णयमा पुगेको हो ।सुनसरी मोरङ सिचाई आयोजनाका पदाधिकारी सहित सरोकारवालाको बैठक डाकी सुनसरी प्रशासनले १० दिनको लागि नहरमा पानी छाड्ने सहमति जुटाएको छ ।

सिचाई अभावमा बाली सुकेको गुनासो बढेपछि नहर मर्मतको कार्यलाई केहि दिन पर सार्दै तत्काललाई पानी छाड्ने निर्णयमा पुगिएको सुनसरी प्रशासनले जनाएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले किसानहरुको मार्कालाई मध्यनजर गर्दै चतरा नहरमा १० दिनको लागि पानी छाड्ने निर्णय गरिएको बताउनु भयो । ढकालले जिल्ला जलस्रोत समितिको बैठक बसी नहर संचालनमा ल्याउने बारे निर्णय गरिएको बताउनु भयो ।नहरमा पानी छाडिनु पर्ने माग राख्दै किसानहरुले केहि दिन अघि प्रशासनमा पुगेर धर्ना सहित प्रजिअको ध्यानाकर्षण गराएका थिए । धर्नाको क्रममा किसानहरुले प्रजिअ समक्ष सिचाई अभावमा मकैका साथै, चैते धान र तरकारी बाली प्रभावित बन्न पुगेको गुनासो पोखेका थिए । प्रजिअ ढकालले किसानको समस्या बुझेर नहर संचालनमा ल्याइएको बताए ।तत्काल १० दिनको लागि संचालनमा ल्याइएको नहर त्यस पश्चात भने बन्द रहने बताइएको छ । प्रजिअ ढकालका अनुसार नियमित मर्मत कार्यको लागि चैत्र २८ गतेबाट जेठ २५ गते सम्म भने नहर बन्द रहने छ ।बैठकको थप निर्णय बारे जानकारी दिदै प्रजिअ ढकालले सुनसरी मोरङ सिचाई आयोजना अन्तर्गत पर्ने चतरा मूल नहरमा बनाइएका घर, टहरा लगायतका संरचना समेत हटाइने बताउनु भयो । प्रजिअ ढकालका अनुसार मूल नहरको डिल सहित आसपासको क्षेत्रमा पूनः अतिक्रमण गरी घर, टहरा निर्माण गर्ने क्रम बढेको पाइएकाले नहर बन्द रहेको समयमा त्यस्ता संरचना हटाइने छन् ।

तपाईको प्रतिक्रिया