- अमर काफ्ले

इनरुवामा तेस्रो मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फुलबारी क्रिकेट क्लब इनरुवा २ सुनसरीले बैशाख १६ गतेबाट तेस्रो संस्करणको मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

क्लबका अध्यक्ष शिबु यादवका अनुसार बैशाख २४ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने छन् ।विभागीय टिमहरु नेपाल प्रहरी, आर्मी र एपीएफ सहित सप्तरी, धनगढी र विरगञ्जका साथै प्रदेश १ बाट आयोजक सहित ६ टिमले सहभागिता जनाउने यादवले बताउनु भएको छ । यादवले प्रतियोगिताको मिति नजिकिए सँगै तयारी समेत थालिएको जानकारी दिनु भएको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिता सुनसरी बहुमुखी क्याम्पसको मैदानमा खेलाइने छ । यस अघिका दुई संस्करण इनरुवाको खेल मैदानमा आयोजना गरेको फुलबारीले रंगशाला मर्मतको क्रममा रहेकाले स्थान परिवर्तन गरि प्रतियोगिता संचालनमा ल्याउन लागिएको जनाएको छ ।आयोजकका अनुसार प्रतियोगिताको बिजेताले २ लाख १५ हजार सहित ट्रफि हात पार्नेछ । उपविजेता टिमले १ लाख ११ हजार पाउने छ । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहने आयोजकको भनाई छ । प्रतियोगिता इनरुवा नगरपालिकाको सहयोगमा संचालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया